काठमाडौँ । प्रदेश नम्बर १ प्रदेश सभाको सातौं हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्ने भएको छ। माघ ७ गते ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो।
बैठक बस्नुअघि आइतबार बिहान ११ बजे सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। समितिको बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले नै बैठक अवरुद्ध गर्ने सम्भावना देखिएको छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपाको दाहाल–नेपाल समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ।
भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह रहेको र बैठकमा प्रवेश गरे बैठक सञ्चालन नै हुन नदिने सत्तापक्षको तयारी छ।
‘अविश्वासको प्रस्ताव टेबल हुने’
नेकपाको दाहाल–नेपाल समूहका नेतासमेत रहेका प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोका अनुसार आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुनेछ।
हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले अरु बिजनेश नदिएको र संसद्को एक मात्र विजनेशको रुपमा रहेको अविश्वासको प्रस्तावमाथि छलफल हुने उनले जानकारी दिए।
‘बैठकमा अविश्वासको प्रस्ताव टेबल गरिनुपर्छ। सरकारले संसदमा प्रस्तावको सामना गर्छ भन्ने विश्वास छ, ‘सरकारले परिपक्वता देखाओस्’आङ्बोले भने।
गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा दाहाल-नेपाल समूहका ३७ नेताले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
