विराटनगर । बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन्।
बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका-२ स्थित चिया पसल बिहीबार दिउँसो साढे १२ बजे तोडफोड गरेका हुन्।
तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घाइते भएका छन्। बबिता ६ महिनाकी सुत्केरी हुन्।
पूर्वमन्त्री एवम् प्रचण्ड-नेपाल समूहका नेता शिवकुमार मण्डल नेतृत्वको समूहले उक्त चिया पसल तोडफोड गरेको थियो।
भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि उनले छुट्याउन प्रयास गरेका थिए। चिया पसल सञ्चालन गर्दा अवरोध नगर्ने बताएपछि आफूले पसल खोलेको पसल सञ्चालक प्रमोदले बताए।
तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन्। बनिसकेको खानेकुरा भुइँमा फ्यालिएको छ भने बनाउन तयारी अवस्थामा राखिएका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
