काठमाडौँ । राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ।
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम हटाउन सो क्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने निष्कर्षमा पुगी अध्ययन सुरु भएको जानकारी दिए।
उनले भने, “सुरुङमार्ग बनाउने निष्कर्षमा पुगिए पनि सुरुङमार्ग चार वा छ लेन, कति लेनको बनाउनेबारे टुङ्गोमा पुग्न बाँकी छ।” तीनकुनेदेखि जडीबुटीसम्म बन्ने करिब आठ सय मिटर लामो सुरुङमार्ग निर्माण गर्न अहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले आफ्नै खर्चमा सम्भाव्यता अध्ययन गरिरहेको महाशाखा प्रमुख थापाले बताए ।
तीनकुने–जडीबुटी सडकको समानान्तर हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जमिनमुनि सुरुङमार्ग निर्माण गर्न अध्ययन अगाडि बढाइएको हो। सुरुङमार्ग निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक रहेको उनको भनाइ छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सडक विभागसँग सहकार्य गरेर सडक निर्माण गरिने बताए ।
भौतिक रूपमा पनि सम्भव रहेको बताउँदै उनले विमानस्थलको धावन मार्गबाट नभई सडकको छेउबाट सडक बन्ने हुँदा समस्या नभएको स्पष्ट पारे। आजको गोरखापत्र दैनिकमा खबर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
