काठमाडौँ । जननिर्वाचित संस्था प्रतिनिधिसभाको विघटनविरुद्ध नेपाली काँग्रेसका १३ वटा भातृ संगठनले भोलि (सोमबार) ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएका छन्।
काँग्रेसका १३ वटै भातृ संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको विरुद्धमा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको जनाएका छन् ।
भातृसंगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संसद् विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं।”
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै आगामी चैत्र १७ र २७ गतेका लागि निर्वाचन तोकेसँगै देशभर ओली कदमको विरोध सुरु भएको छ। उनकै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समुहसहित नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतले छुट्टाछुट्टै आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
