जीनएनएन/काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२०’ सार्वजनिक गरेको छ।
सूचकाङ्कमा भ्रष्टाचारका कारण कोरोना महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको जनाएको छ।
१ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञहरूको अवधारणा मापन गरेर ट्रान्सपरेन्सीले सार्वजनिक गरेको हो।
सूचकाङ्कमा समावेश १ सय ८० देशमध्ये डेनमार्क र न्युजील्याण्डले कूल एक सयमा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन्।
दक्षिण सुडान र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन्।
नेपालले एक सयमा ३३ अंक प्राप्त गरेको छ। नेपाल सूचीको ११७ औं स्थाना रहेका छ। नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको ट्रान्सपरेन्सीले जनाएको छ।
गतवर्ष यस सूचीमा नेपालको अंक ३४ सहित १ सय १३औँ स्थानमा रहेको थियो। राज्यका प्रमुुख अंगहरुमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग बढेकाले भ्रष्टाचार बढेको ट्रान्सपरेन्सीको निस्कर्ष छ।
सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारी माथी कारवाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै रहेको पनि प्रतिवेदनले औंल्याएको छ।
दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंक प्राप्त गरी २४ औं स्थान, मालदिभ्स ४३ अंक प्राप्त गरी ७५ औं स्थान, भारत ४० अंक प्राप्त गरी ८६ औं स्थान, श्रीलङ्का ३८ अंक प्राप्त गरी ९४ औं स्थान, पाकिस्तान ३१ अंक प्राप्त गरी १२४औँ स्थान, बङ्गलादेश २६ अंक प्राप्त गरी १४६ औं स्थान र अफगानिस्तान १९ अंक प्राप्त गरी १६५ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अंक प्राप्त गरी ७८औँ स्थानमा रहेको छ।
विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा यो प्रतिवेदन सार्वजनिक गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
