विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन आजदेखि सुरू हुँदैछ।
सत्तारुढ पार्टीभित्र देखिएको शक्तिसंघर्षले प्रदेशको राजनीतिलाई समेत प्रभावित पारेको बेला प्रदेश १ को अधिवेशन सुरू हुन लागेको हो।
यसैबीच प्रदेशसभा अधिवेशनका लागि रणनीति बनाउन सत्तारुढ नेकपाको दुवै समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छुट्टाछुट्टै बैठक बसेको छ।
मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव तथा संसदीय दलले प्रदेश सांसदहरुलाई कारवाही गरेको अवस्थामा नेकपा दुवै पक्ष र नेपाली कांग्रेसको बैठक बसेको हो।
नेकपा भित्रको विवादका कारण प्रदेश सभा अधिवेशन संचालनमा अन्यौल र आशंका उत्पन्न भएका कारण पनि सत्तारुढ दल नेकपाको दुबै समूह र प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठकलाई महत्वका साथ हेरिएको छ।
प्रदेश सभा अधिवेशनको उद्घाटन सत्रमा सबै दलका नेताहरुले शुभकामना मन्तव्य मात्र राखेर बैठक अन्त्य गर्न आग्रह गरिने नेकपा प्रचण्ड माधव समूहका प्रदेश १ सहइन्चार्ज राजेन्द्र राईले जानकारी दिए।
प्रदेशसभा भवनमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभा अधिवेशनलाई नियमित र शान्तिपूर्वक सूचारु गर्नुपर्ने र यसका लागि सभामुखले प्रमुख भूमिका खेल्नुपर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले जानकारी दिए। यसैबीच प्रदेशसभा भवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
