काठमाडौँ । अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने व्यक्ति र संस्थाहरुसँग रहस्यमय र अपारदर्शी भेटघाट नगर्न आग्रह गरेको छ।
हालै प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर अन्तरवार्ता दिएका जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्दै रिपोर्ट प्रसारण गरेको सन्दर्भमा अनेरास्ववियूले सो आग्रह गरेको हो।
अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन, रहस्यमय र कपोकल्पित ढंगले पेश गरिएको दावीलाई अनेरास्ववियू खारेज गर्दछ।’
‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषबमन गर्दै आएको जी न्युजले आफ्ना कर्तुत उपर कुनै प्रायश्चित नगर्दै प्रधानमन्त्री स्तरबाटै बालुवाटारको पटाङ्गिनीमा त्यसका प्रधान सम्पादकलाई नै रातो कार्पेट बिछ्याएर स्वागत गरिएको परिघटनाले हामीलाई थप आशंकित र आक्रोशित तुल्याएको छ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
