शिवालय माविको ६०औँ वार्षिकोत्सव, उत्कृष्ट विद्यालय बनाउनेतर्फ निरन्तर लागिपरेका छौँ : अध्यक्ष सुवेदी

पोखरा । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ ।

सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७७ प्रदान गरिएको थियो।

Advertisement

सम्मानित हुनेहरुमा शिक्षक धनबहादुर गुरुङ, पूर्व अध्यक्षद्वय तिलबहादुर थापा र हिराप्रसाद सुवेदी, शिक्षक-अभिभावक सङ्घकी पूर्व अध्यक्ष लीला ओझा र समाजसेवी हिमलाल ढुङ्गाना रहेका छन्।

एक शिक्षकः एक ल्यापटप कार्यक्रम अघि बढाएका छौँ : गाउँपालिका अध्यक्ष ओझा

कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिवालयले रुपा गाउँपालिकाको उत्कृष्ट विद्यालयका रुपमा पहिचान बनाएको बताए।

कोभिड–१९ का बिचमा पनि प्रभावकारी पठनपाठन सञ्चालन गरेकोमा प्रशंसा गर्दै उनले विद्यालयको विकासका लागि गाउँपालिकाले जुनसुकै सहयोग गर्ने बताए। शैक्षिक सुधारका लागि शिक्षासँग सम्बन्धित सबै पक्षको समान सक्रियता आवश्यक भएको उनको भनाइ थियो।

प्रविधिमैत्री शिक्षाका लागि गाउँपालिकाले यस वर्ष शिक्षकहरुसँगको साझेदारीमा एक शिक्षकः एक ल्यापटप कार्यक्रम अघि बढाइएको जानकारी दिँदै ओझाले शिक्षामा अपडेट हुनैपर्ने धारणा राखे।

गाउँपालिकाका कुनै पनि विद्यार्थी पढ्नका लागि बाहिर जानुनपर्ने गरी विकास गर्ने योजनामा गाउँपालिका अघि बढेको ओझाले बताए।

गाउँपालिकाकै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्दिप पौडेलले शिवालयको शैक्षिक प्रगति सबैले देख्न सक्ने गरी अघि बढेको बताए ।

लगातार २ वर्षसम्म गाउँपालिकाभित्रको उत्कृष्ट विद्यालयका रुपमा शिवालय पुरस्कृत भएको स्मरण गर्दै बाहिरबाट पनि विद्यार्थी शिवालयमा पढ्न आउने वातावरण बन्दै गएको पौडेलले बताए ।

स्कुललाई शैक्षिक र भौतिक दुवै ढङ्गले उत्कृष्ट बनाउनेतर्फ लागिपरेका छौँ : अध्यक्ष सुवेदी

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले शिवालय माविलाई शैक्षिक र भौतिक दुवै ढङ्गले उत्कृष्ट बनाउनेतर्फ आफूहरु लागिपरेको बताए । उनले कुनै पनि निर्णय गर्दा सरोकारवालासँग सल्लाह गरेर अघि बढेकै कारण कुनै पनि योजना सफल बनेको अनुभव सुनाउँदै सुवेदीले आगामी वर्ष अवस्था सामान्य रहेमा विद्यालयको हिरक महोत्सव मनाइने घोषणा गरे । विद्यार्थीको हक हितका लागि शिक्षकको हक हित सुनिश्चित हुनुपर्ने तथ्य आफूले बुझेको भन्दै उनले सक्दो न्यायोचित वातावरण निर्माणमा व्यवस्थापन समिति लागिरहने प्रतिबद्धता पनि जनाए ।

सो अवसरमा वडा नं। २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेती, पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार तिलबहादुर थापा, सल्लाहकार बलबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए ।

शैक्षिक सत्र २०७६ का उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारका साथै विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति वितरण गरिएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावीले शैक्षिक प्रतिवेदन तथा लेखापाल पूर्णबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

More News last news
Loading...