काठमाडौँ । संसद् विघटन पछि दुई टुक्रा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको भेला, सम्मेलन गर्ने होड नै चलेको छ।
कार्यकर्तालाई आफ्नो पक्षमा पार्न ओली समूह र दाहाल-नेपाल समूहले देशभर विभिन्न भेला तथा सम्मेलनको आयोजना गरी कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन्।
त्यस्तै, केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दैछ। भेला कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा १२ बजेका लागि तय गरिएको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।
यस्तै, रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको अनेरास्ववियुले जानकारी दिएको छ।
प्रचण्ड-नेपाल समुहद्वारा आन्दोलन घोषणा
संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेकपा (प्रचण्ड-नेपाल) समूहले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
