काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ ।
आइतबार बसेको पदाधिकारी बैठकले सरकारको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको पनि बताएको छ।
संसद विघटन गर्ने निर्णयलाई कांग्रेसले घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना भनेको छ।
गत आम निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको पनि बताएको छ।
‘पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरीत कार्यहरुको श्रृङ्खलाको निरन्तरता हो।’
आज प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटनको प्रस्तावलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृति गरिसकेकी छिन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
