काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पदभार ग्रहण गरेको सय दिनभित्र १० करोड व्यक्तिलाई कोरोना खोप दिने वाचा गरेका छन्।
आफ्नो कार्यकालको सुरुवाती महिनामा कोरोना महामारी अन्त्य नहुने भए पनि यसको बाटो मोड्ने रणनीतिमा आफूहरु लागेको उनले दाबी गरेका छन्।
आफ्नो स्वास्थ्य कार्यदलको परिचय गराउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन बाइडेनले भने, ‘मेरा सुरुवाती १०० दिनमा कोरोना महामारी अन्त्य हुँदैन। म त्यस्तो वाचा गर्न सक्दिनँ। यस्तो भद्रगोल अवस्थाबाट छिट्टै छुटकारा पाउन कठिन छ तर सय दिनमा यसको बाटो मोडेर अमेरिकी नागरिकको जीवन सहज बनाउन भने सक्नेछौं।’
बाइडेनले आउँदो जनवरी २० तारिखमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। त्यसअघि बाइडेनले मंगलबार आफ्नो स्वास्थ्य कार्यदलको परिचय गराएका हुन्। उनले आफूले कार्यभार सम्हालेको सय दिनसम्म सबै अमेरिकी नागरिकलाई मास्क लगाउन पनि आग्रह गरेका छन्।
बाइडेनले स्वास्थ्य सचिवका रुपमा क्यालिफोर्नियाका महान्यायाधीवक्ता हाभियर बेसेरालाई मनोनीत गरेका छन्। त्यस्तै डा. विवेक मुर्थीलाई सर्जन जनरलका रुपमा र डा. रोचेल वालेन्स्कीलाई रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को निर्देशकका रुपमा मनोनीत गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
