काठमाडौँ । यस अघि भारतले प्रस्तावित गरेको ‘एअर बबल’ स्वरूपमा नेपाल भारतबीच उडान शुरू गर्ने तय भएको नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन्।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै देशहरूसँग हवाई उडान खोल्ने निर्णय गरेको थियो। उनले भने, “अर्को सातादेखि नेपाल भारतबीच दैनिक एक एक वटा उडान गर्ने गरी व्यवस्था गरिनेछ।”
एअर बबल अन्तर्गत कस्ता मानिस यात्रा गर्न पाउनेहुन् भन्नेबारे दुवै देशका उड्डयन निकाय बसेर टुङ्गो लगाउने पनि मन्त्री भट्टराईले बताए।
यसअघि भारतले तेश्रो मुलुकका नागरिक बाहेक एक अर्काका देशका बसिरहेका नेपाली र भारतीय नागरिकले मात्र उडान गर्न पाउने ‘एयर बबल’भनिने उडान ढाँचामा सहभागी हुन गरेको आग्रहलाई नेपाल सरकारले मानिरहेको थिएन।
मन्त्रिपरिषद्को निर्णय किन महत्त्वपूर्ण ?
मन्त्री भट्टराई भन्छन्, “अन्यत्रको उडान खुला नै रहेको थियो। बुधवारको मन्त्रिपरिषद्को बैठकले भारत र बाङ्लादेशको उडान पनि खोल्ने निर्णय गरेको छ। अब यो तुरुन्तै कार्यान्वयनमा जान्छ।”
उनले थपे, “तीन चार दिनभित्रै अब भारत र बाङ्लादेशको पनि उडानका तालिकाहरू दिन्छौँ। त्यसका लागि हामीले भारत र बाङ्लादेशका उड्डयन निकायसँग छलफल गर्नुपर्छ। दुवै देशका अधिकारीहरूले छलफल गरेर तालिका निकाल्छन्।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
