रिजन नेपाल
पोखरा । गण्डकी प्रदेशसभाका लेखा समिति सभापति कुमार खड्काले प्रदेशका मुख्यमन्त्रीले प्रदेशमा जनताको उपचारमा बेवास्दा गरेर सत्ता जोगाउन बालुवाटार धाउने गरेको भन्दै टिप्पणी गरेका छन् । उनले कोरोना संक्रमितको उपचारमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
आव २०७७/७८ का लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की क्षेत्र २ (ख) को संचालित योजनाको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद खड्काले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ प्रदेशवासीको जनस्वास्थ्यप्रति गम्भीर नभएको आरोप समेत लगाए । उनले पूर्वाधार विकासतर्फको बजेट कोरोना कोषमा राखेर जनताको उपचार गरौं भन्ने काँग्रेसको प्रस्तावमा सरकारले बेवास्ता गरेको बताए । पूर्व मन्त्री एवं काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका खड्का कास्की २ (ख) बाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् ।
सोही निर्वाचन क्षेत्रका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका संयोजक बिन्दुकुमार थापाले मुख्यमन्त्रीले प्रदेशमा स्वास्थ्य सेवा प्रभावकारी रहेको दाबी गरे पनि भनाइ र गराइमा भिन्नता रहेको बताए । जनताप्रति उत्तरदायी हुनुपर्नेमा आफूसमेत आफन्तको चित्कारमा सहयोगी बन्न नसकेकोमा दुःख व्यक्त गरे ।
सांसद् थापा र खड्काले पूर्वाधार कार्यक्रमअन्तर्गत उद्योग, पर्यटन, कृषि, सडक, भौतिक पूर्वाधार, सिंचाइ, खानेपानी, पुलका आयोजना छनौट गरेका छन् ।
तीमध्ये सबैभन्दा बढी पोखरा ८ स्थित सरस्वती मन्दिर तथा बहुउद्देश्यीय सामाजिक भवन निर्माणमा ३१ लाख, पोखरा ९ को बुद्धमार्गमा नालीसहित बाटो निर्माणको लागि २५ लाख बजेट विनियोजन गरेका छन् । पोखराको वडा ४,८,९,११,१६ र २० उनको क्षेत्र पर्दछ।
कार्यक्रममा नेकपाबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसदद्वय मीना गुरुङ र प्रभा कोइरालाले एकल प्रयासबाट कोही कसैले योजना नल्याएको भन्दै यो सबै सरकारी कार्ययोजनाअन्तर्गत रहेको बताए ।
सांसद गुरुङ र कोइरालाले पोखरा १६ स्थित तुम्के–गर्लाङ–आलेबारी सडक स्तरोन्नतिमा २५ लाख लगायत विभिन्न ७ योजना छनौट गरेको जनाए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
