काठमाडौँ । नेपालले अन्तरिक्षमा अनुसन्धान गर्ने भएको छ। पहिलो पटक नेपालले अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाएको हो।
अन्तरिक्षमा जडीबुटीको अंकुरणसम्बन्धी अध्ययन गर्ने ‘एसियन हब्स इन स्पेस’ नामक परियोजनामा यो सालदेखि नेपाललाई समेत समावेश गराएसँगै नेपालले पहिलो पटक उक्त अवसर प्राप्त गरेको हो।
एसिया तथा प्रशान्त क्षेत्रका अन्तरिक्षमा अनुसन्धान गर्ने वैज्ञानिक संस्थाहरूको छाता संगठन एसिया प्यासिफिक रिजनल एजेन्सी फोरमले पृथ्वीमा रहेका जडीबुटीलाई गुरुत्वाकर्षण मुक्त क्षेत्रमा अंकुरण गराउँदा कस्तो प्रभाव पर्छ भन्ने बारेमा अन्तरिक्षमा अनुसन्धान गर्न लागेको छ।
विभिन्न एसियाली मुलुकमा पाइने जडीबुटीलाई अनुसन्धानको लागि अन्तरिक्षमा लैजाने क्रममा फोरमले नेपालबाट तुलसीको बिउलाई अनुसन्धानमा समेटेको छ। सोही अनुसन्धानमा नेपाली वैज्ञानिक संस्थालाई समेत संलग्न गराइएको हो।
फोरमको २०१९ नोभेम्बर २६–२९ सम्म जापानमा बसेको बैठकले नेपाल, जापान, ताइवान, भियतनाम, बंगलादेश लगायतका देशमा रहेका छुट्टाछुट्टै जडीबुटी अन्तरिक्षमा अध्ययनको लागि पठाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुरुप नेपालबाट बैठकमा प्रतिनिधित्व गरेको संस्था नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरले तुलसीको बिउलाई अन्तरिक्षमा पठाउन प्रस्ताव गरेको थियो।
सो प्रस्ताव स्वीकृत भएसँगै नासा स्पेस सेन्टरबाट तुलसीको बिउ डिसेम्बर २ मा अन्तरिक्ष पठाउन लागिएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नास्टले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
