पोखरामा शुक्रबार मात्रै थप १०० जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ होम आइसोलेसनमा बसेका पुरुष र ३ जना उपचाररत व्यक्तिसहित ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो।

Advertisement

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोंना उपचार केन्द्रमा उपचाररत पोखरा–१४ की ६७ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ।

त्यस्तै, प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा–१५ निवासी ५४ वर्षीया महिलाको विहीबार मृत्यु भएको हो।

कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा–२० का ८३ वर्षीय पुरुषको बिहीबार र कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भइ गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत पोखरा–२५ का ७० वर्षीय पुरुषको शुक्रबार बिहान ११ः१५ बजे उपचार कै क्रममा निधन भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११८ पुगेको छ।

प्रदेशका ९ जिल्लामा १७२ संक्रमित थपिए

गण्डकी प्रदेशमा शुक्रबार थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका १०० जना र मादी गाउँपालिकाका ७ गरि कास्कीमा १०७ सहित प्रदेशका ९ जिल्लाका थप १ सय ७२ जनामा कोरोना भाइरस देखिएको हो।

यो सँगै प्रदेशमा संक्रमितको संख्या १० हजार ७५ पुगेको निर्देशनालयले जनाएको छ। पछिल्लो २४ घन्टामा थप २० जना निको भएसँगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९ सय ९९ पुगेको छ।

More News last news
Loading...