शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान

काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई १५ दिनभित्र दरखास्त दिन सक्ने छन्।

इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायीक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालयमा बुझाउनु पर्ने छ।

Advertisement

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न सरकारले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरेको छ ।

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक तथा कर्मचारी पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाको लागि सिफारिस गर्ने जिम्मेवारी शिक्षक सेवा आयोगलाई तोकिएको छ।

एक अध्यक्ष र दुई जना सदस्य (एक महिला) गरी ३ सदस्यीय शिक्षक सेवा आयोग गठन हुने प्रावधान शिक्षा ऐनमा छ। पदाधिकारीहरुको नियुक्ति ५ वर्षको लागि हुन्छ। शिक्षा ऐनमा शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा पुनः नियुक्ति हुने व्यवस्था छ।

आयोगका अध्यक्ष ताना गौतमको पनि कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि हाल आयोग पदाधिकारीविहीन छ।

त्यसअघि नै आयोगका एक जना सदस्य ज्ञानी यादवको पद गत असारमा र अर्का सदस्य सिताराम पोख्रेलको पद २०७५ मंसिरदेखि रिक्त भएको थियो।

सरकारले आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनुभन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको योग्यता तोकेको छ।

More News last news
Loading...