प्रमुख प्रशिक्षक खोज्दै क्रिकेट संघ, ७७ जनाको आवेदन, एउटापनि छैनन् नेपाली

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदका लागि ७७ जनाले आवेदन दिएका छन्। नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक (जीएम), प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि सात जना स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन आव्हान गरेको थियो।

नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षकका लागि परेका आवेदन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पठाइएको जानकारी दिए। उनले एक साताभित्रै आईसीसीले प्रमुख प्रशिक्षक पदका उम्मेदवारहरुको छोट्याइएको सूची नेपाल क्रिकेट संघलाई पठाउने बताए।

Advertisement

एकजना प्रमुख प्रशिक्षक पदका लागि दक्षिण एशियाली राष्ट्रहरुसँगै दक्षिण अफ्रिकाबाट समेत आवेदन परेको छ। महासचिब प्याकुरेलले भने, “भारत, श्रीलङ्का, पाकिस्तानसँगै दक्षिण अफ्रिकाबाट प्रमुख प्रशिक्षकका लागि आवेदन परेको छ ।” नेपालबाट प्रमुख प्रशिक्षकका लागि एउटै आवेदन परेको छैन ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले एक साताभित्र छोट्याइएको सूची आईसीसीले क्यानलाई पठाउने जानकारी दिए ।

आईसीसीले जारी गरिएको मापदण्ड बमोजिम पहिलो चरणमा छोट्याएर दश जनाको सूची क्यानलाई पठाउने खुलाए। दश जनाबाट थप ‘शर्टलिस्ट’ गरिने उनले बताए। प्रमुख प्रशिक्षक पदका लागि आवेदन दिनेमा अधिकांश दक्षिण एशियाली राष्ट्रका छन्।

महासचिब प्याकुरेलले आईसीसीबाट सूची प्राप्त हुनासाथ समिति बनाएर थप छनोट, अन्तवार्ता र नियुक्ति प्रकृया अगाडि बढाइने बताए । अन्तिम छनोट चरणमा आईसीसीको सहमति लिएर नियुक्त गरिने उनले उल्लेख गरे।

नेपाल क्रिकेट संघका अध्यक्ष र महासचिब दुबै जना अस्वस्थ भएपछि संघको नियमित कामकाज प्रभाबित भएको थियो । महासचिब प्याकुरेल गत् साता मात्रै कोरोनामुक्त भएर घर फर्किएका छन् ।

प्रमुख प्रशिक्षक पदका लागि सीए लेभल तीनको योग्यता हुनुपर्ने, तीन वर्ष व्यवसायिक प्रशिक्षणको अनुभव भएको हुनुपर्नेछ । जस अन्तगर्त आईसीसीको पूर्ण सदस्य, पहिलो श्रेणिको टोली, एशोसिएट सदस्य, राष्ट्रिय टोलि वा अन्तर्राष्ट्रिय लिगको अनुभव लिएको हुनुपर्नेछ। ६० वर्ष उमेर हद तोकिएको प्रशिक्षकका उम्मेदवारले एशोसिएट राष्ट्रको एकदिवसीय चक्रबारे जानकार हुनुपर्ने र क्रिकेट संस्कृतिको ज्ञान हुनुपर्ने मापदण्ड तोकिएको छ।

संघले छनोट गरेको उम्मेदवारसँग एकवर्षको समयावधि राखेर अनुबन्धन गरिनेछ । भारतीय पूर्ब क्रिकेटर उमेश पटवालले समय अगावै अनुबन्धन समाप्त गरेर फर्केपछि राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षकको पद रिक्त हुन गएको हो । गत माघदेखि प्रशिक्षकविहीन रहेको नेपाली टोलिको प्रशिक्षण हाल जगत टमाटाले गर्दै आएका छन् ।

संघका कोषाध्यक्ष सिंहले उम्मेदवार छनोट भएपछि आपसी सहमतिमा तलब वा वर्षभरिको प्याकेजबारे निर्णय लिइने जानकारी दिए । यसअघि प्रशिक्षक रहेका पटवाललाई सात हजार अमेरिकी डलर प्रति महिना दिने गरी नियुक्त गरिएको थियो।

त्यसैगरी, नेपाल क्रिकेट संघको महाप्रबन्धक पदका लागि ४५ जनाको आवेदन परेको छ । संघका कोषाध्यक्ष सिंहले राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान विनोद दासले समेत बोर्ड प्रबन्धकको लागि आवेदन दिएको जानकारी दिए । पूर्बकप्तान दास यसअघि जुनियर टोलिको प्रशिक्षकको रुपमा कार्यरत थिए ।

वित्त अधिकारीका लागि ३५ जना र क्रिकेट प्रबन्धकका लागि पाँचजनाले आवेदन दिएका छन् । सात प्रदेशका सात जना स्थानीय प्रशिक्षकका लागि २१ जनाले आवेदन दिएको नेपाल क्रिकेट संघले जनाएको छ । महासचिब प्याकुरेलले भने, “महाप्रबन्धक, वित्त अधिकारी, क्रिकेट प्रबन्धक र स्थानीय प्रशिक्षकको टुंगो नेपाल क्रिकेट संघले नै लगाउनेछ ।”

“आवेदन परेको प्रदेशका स्थानीयलाई नै प्रदेश प्रशिक्षकको जिम्मेवारी दिइने गरी तयारी गरिएको छ” कोषाध्यक्ष सिंहले बताए । प्रमुख प्रशिक्षक बाहेकको सबै पदका लागि नेपाली नागरिक नै हुनुपर्ने मापदण्ड तोकिएको छ ।

नेपाल क्रिकेट संघले आफ्नो वेबसाइटसँगै एशियाली क्रिकेट संघ र आईसीसीको वेबसाइटमा प्रमुख प्रशिक्षक पदका लागि आवेदन आव्हान गरेको थियो । संघले सेप्टेम्बर २३ सम्मको म्याद राखेर आवेदन आव्हान गरेको थियो। आजको गोरखापत्र दैनिकमा खबर छ ।

More News last news
Loading...