नेकपा पर्साका सचिव चौरसिया हत्या घटनाको छानबिन गर्न काँग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ दल नेकपा पर्साका सचिव मुकेश चौरसियाको हत्या घटनाको छानबिन गर्न माग गरेको छ।

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्‍ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्‍ने भन्दै काँग्रेसले पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्ष रहेका केपी ओलीको ध्यानाकर्षण समेत गराएको हो।

Advertisement

‘पर्साका घटना विवरण अत्यन्तै दुःखद छ। अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ’, प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सत्तारूढ दल नेकपाको स्थानीय दुई समुहबीच असोज ६ गते भएको झडपका क्रममा घाइते चौरसियाको उपचारक्रममा निधन भएको थियो।

दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेको सार्वजनिक समाचार विवरणहरुप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको पनि शर्माले जनाएका छन्।

“पर्साको घटनाले सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ।

घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिइ कानुनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो। तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ,” विज्ञप्तिमा भनिएको छ।

More News last news
Loading...