काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ तथा सांसद् डा. डिला संग्रौलाले कोरोना महामारीका बेला सरकार जनताको उपचारबाट पन्छिनु गैर जिम्मेवार र निर्लज्जताको पराकाष्ठा भएको आरोप लगाएकी छन् ।
नेतृ संग्रौलाले कोरोना महामारीको उपचार ब्यक्ति स्वयमले गर्नुपर्ने निर्णय गरेर सरकार नागरिकको दायित्व र जिम्मेवारीबाट पन्छिनु चरम लापरबाहीको नमुना भएको बताएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत डा. संग्रौलाले भनेकी छन्, “सरकारको यो निर्णय गैर जिम्मेवारी र निर्लज्जताको पराकाष्ठा हो। जनताको मत लिन चुनावी घोषणापत्रमा जनसेवा गर्ने प्रतिबद्धता जाहेर गर्ने तर संकटको घडीमा हात झिक्ने प्रबृत्तिले सरकारको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा भएको छ।”
“संविधानको मौलिक हक र सर्बोच्च अदालतको परमादेशलाई उल्लंघन गर्ने अधिकार सरकारलाई कहाँ छ ? बास्तबमा दुःखद्को बेलामा नै राज्यको आडभरोसा चाहिन्छ तर सरकार भने लाजै पचाएर आफ्ना दुबै हात उठाएको छ। जनता बाट कर भने असुल्ने तर जनताको आधारभुत स्वस्थ्य सेवाबाट पन्छिने प्रबृत्तिले सरकार जनताको अबिभावकत्व गुमाएको प्रस्ट हुन्छ। यदि सरकार जनताको संरक्षकहो भने अबिलम्ब यो निर्णय फिर्ता गरि कोरोनाको महामारीको निःशुल्क उपचार गर्नु नै पर्दछ।सरकारको सद्बुद्धी पलायोस, चेतना भया ।” डा. संग्रौलाले भनेकी छन्।
सरकारले कार्तिक २ गतेदेखि लागु हुनेगरी कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो । सरकारले नेपालमा कोरोनाको अवस्था भयावह हुँदै गर्दा जनताको आधारभूत स्वास्थ्य सेवाबाटै हात झिकेको हो।
सरकारको यो निर्णयले संविधानको मौलिक हक र सर्बोच्च अदालतको परमादेश पनि उल्लंघन भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
