कुलेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माणका लागि शिलान्यास

काठमाडौँ । आज कुलेश्वर महादेव मन्दिर परिसरमा पार्कको शिलान्यास भएको छ।

संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश संसद सदस्य डा. अजयक्रान्ति शाक्यलगायतकोे उपस्थितिमा काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पार्कको शिलान्यास गरेका हुन् ।

करीब ९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको पार्कको लागत करीब १ करोड २० लाख रुपैयाँ हो।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोड रुपैयाँसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ।

यस कामका लागि महानगरपालिकाले करीब २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ। ‘हरियाली प्रर्वद्धन गर्ने, सहरको सौन्दर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो।

कुलेश्वर पार्कको शिलान्यासपछि प्रमुख शाक्यले भन्नुभयो, ‘हामी खुल्ला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वर्धन गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ।’

प्रमुख शाक्यले सम्वोधनकै क्रममा अहिले काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेको भन्दै तीनै तहका सरकार र जनता मिलेर नियन्त्रणको प्रयासमा लाग्न जरुरी रहेको बताए। उनले आम नागरिकलाई सचेत र सजग रहन पनि अपिल गरे।

वडामा भएका खुल्ला ठाउँ बचाउने प्रयास जारी छ। शिलान्यासका क्रममा वडाध्यक्ष शोभा सापकोटाले भने, “सबै रमाउन सक्ने पार्क बनाएर जनताको जीवन शैलीलाई रमाइलो बनाउँछौँ ।”

More News last news
Loading...