तनहुँ । तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ।
समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।
नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षासम्बन्धी कार्यबाहेक सम्पूर्ण कार्य र सबै वडा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए।
उनका अनुसार स्वास्थ्य, सुरक्षाबाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ।
भीमाद नगरपालिका–६ मा मङ्गलबार ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको थियो। यसअघि सोही वडाकै एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरका व्यक्तिको स्वाब सङ्कलन गरेको थियो।
कोरोना पुष्टि हुनेमध्ये एक वर्कसप, एक कपाल काट्ने व्यक्ति, एक सिलाइकटाई व्यवसायी र एक जना किराना पसल व्यवसायी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
