काठमाडौँ । समाजसेवी ताराबहादुर कुँवरको नेतृत्वमा आज ७१ जनाले रक्तदान गरेका छन् । चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता कुँवरले आजसहित पाँच पटक रक्तदान कार्यक्रम आयोजना गरेका छन्।
आजसम्म १ सय ६३ जनाले रक्तदान गरिसकेको उनले जनाए । संकलित रगत नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा जम्मा गरिएको छ ।
आजको अभियानमा हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर अधिकारीले पनि सहकार्य गरेका थिए । पछिल्लो समयमा उपत्यकामा रगतको अभाव हुन थालेपछि उनले यस्तो अभियान चलाएको बताएका छन्।
‘मैले अरु अभियानसँगै रक्तदान कार्यक्रम पनि गरेको हुँ, रगतको अभावले धेरै मानिसको ज्यान गएको समाचार सुनेपछि यतातिर पनि लागें’ उनले भने ‘ रगतको अभावले कसैको पनि मृत्यु नहोस् भन्ने हाम्रो प्रमुख उद्येश्य हो ।’ उनी रक्तदान अभियानलाई पनि निरन्तरता दिने बताउँछन्।
बाफलमा व्यापार गर्दै आएका उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका पनि सञ्चालक हुन् ।
उनले चैत्र ११ गतेबाट कोरोना भाइरसको त्रासले भएको लकडाउनदेखि अहिलेसम्म १२ सय ४७ जनालाई राहत स्वरुप चामल, दाल, चिनी, तेललगायतका सामग्री वितरण गरेका छन्।
उनले राहत वितरण अभियानलाई अहिले पनि निरन्तरता दिएका छन् । उनको अभियानलाई केही व्यक्ति तथा संघसंस्थाहरुले पनि सहयोग गर्दै आएका छन्।

केही दिनअघि उनले कोरोना भाइरसको रोकथामका लागि भनेर गुर्जो पनि वितरण गरेका थिए । उनले गुर्जोका अभियन्ता कमलबहादुर राजलवटले दुई चरणसम्म गुर्जो उपलब्ध गराएको बताए।
कुँवरले आफ्नो व्यवसायसँगै सामाजिक अभियानलाई पनि सँगसँगै अघि बढाएका छन्। अरुलाई पनि प्रेरणा होस् भनेर आफूले दिनहुँजसो यस्तो कार्य गरिरहेको उनको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
