कोरोना भाइरसबाट महिला व्यवसायीहरु बढी प्रभावित भएका छन् : उर्मिला श्रेष्ठ

काठमाडौं । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) बाट बढीजसो महिला उद्यमीहरु प्रभावित भएको बताएकी छिन्।

आईतबार नेपाल महिला चेम्बरद्वारा आयोजित कोभिड १९ बाट व्यापारको क्षेत्रमा परेको प्रभाव, योगदान र अनुभव आदानप्रदान विषयक वेमिनार कार्यक्रममा प्रमुख वक्ताको रुपमा उनले यस्तो धारणा राखेकी हुन्।

Advertisement

अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सिर्जित प्रतिकुल अवस्थाका साथै यसबीचमा आफूले भोगेका अनुभव सँगै महिला उद्यमशीलताको क्षेत्रमा परेको असरबारे विस्तृत रुपमा वर्णन गरेकी थिइन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्व वजार नै प्रभावित बनेको अवस्थामा आइपर्ने परिस्थितिको डटेर सामना गर्नुको विकल्प नभएको समेत उनले स्पष्ट पारिन्। उनले सबै व्यावसायीलाई धैर्यताका साथ काम गर्न समेत आग्रह गरेकी थिइन्।

अध्यक्ष श्रेष्ठले प्रायजसो महिला उद्यमीहरु हस्तकलाजन्य उद्योग, व्युटी पार्लर, टेलरिङ, फिटनेश सेन्टर, होम स्टे, नर्सिङ होम आदि सञ्चालन गर्दै आएकामा कोभिड १९ पछि यी सबै व्यावसायमा बढी संकट देखिएको भन्दै वातावरण सहज भएपछि पुनः व्यवासय सञ्चालन गर्न आशावादी हुनुपर्नेमा जोड दिइन्।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत समेत रहेकी श्रेष्ठले नेपालमा पछिल्लोे ६ महिनाको अवधीमा अत्यावश्यकीय खाद्य सामाग्रीको क्षेत्र बाहेकका अन्य क्षेत्रहरु अधिक मात्रामा प्रभावित बनेको बताईन्।

९० प्रतिशत व्यवसायिक क्षेत्र ठप्प भएको बताउँदै उनले लगानीको वातावरण धुमिल भएको, आयतमा कमी आएको, अन्तर्राष्ट्रिय बजारमा सामग्रीको माग समेत कम रहेको उल्लेख गरिन्।

अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुले आम्दानी नभएता पनि घर भाडा, कर्मचारीलाई तलब, बैंकको ब्याज एवम् ऋृण, विद्युत् महशुल आदि खर्चको दायित्व वहन गर्नुपरेको भन्दै राज्यबाट यसका लागि कुनै पनि प्रकारको सहयोग नभएको बताइन्।

देशभर छरिएर रहेका शाखा सञ्जालबाट करिव ५० जनाको सहभागिता रहेको उक्त वेमिनार माझ सहभागीहरुले आ-आफ्नो समस्या राख्दै व्यवसायिक वातावरण निर्माणका लागि के गर्न सकिन्छ भनेर अध्यक्ष श्रेष्ठसामु जिज्ञासा राखेका थिए।

प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष श्रेष्ठले व्यापार सहजीकरणका लागि डिजिटल प्लेटफर्मको उपयोग गर्नुपर्ने, आपसी सहकार्यका आधारमा वस्तु एवम् सेवाको विक्री वितरण गर्न सकिने, व्यवसायिक रुपमा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै वस्तु तथा सेवा प्रवाह गर्न सकिने गरी उपभोक्तामैत्री र विश्वसनीय वातावरणको आभाष दिलाउँदै अघि बढ्नुपर्ने उपायबारे जानकारी गराएकी थिइन्।

श्रेष्ठले महिला उद्यमीहरुले बिनाधितो १५ लाखसम्म ऋृण सुविधा उपयोग गर्न पाउने व्यवस्थाको कार्यान्वयनका लागि पहल हुँदै आएको जानकारी गराईन्।

कार्यक्रमलाई सहजीकरण समेत गरेकी संस्थाकी सचिव लिमा अधिकारीले आगामी दिनमा पनि यस्तै प्रकारका अन्तरक्रियाका कार्यक्रम सञ्चालन गरिने तयारी रहेको बताइन्।

महिला चेम्बरकी सदस्य सोनी जोशीले अध्यक्ष श्रेष्ठको व्यक्तित्व र अनुभवबारे प्रकाश पार्दै वेमिनार फलदायी हुने विश्वास व्यक्त गरेकी थिईन।

चेम्बरकी उपाध्यक्ष अम्बिका शर्माले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई सामना गर्न आपसी समन्वयले ठूलो महत्व राख्ने बताएकी थिईन।

कार्यक्रममा महिला चेम्बरका सल्लाहकारत्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृष्टि त्रिपाठी समेतको उपस्थिति रहेको थियो।

More News last news
Loading...