दमौली । तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये चार महिला र दुई पुरुष छन्। उक्त वडाका ४६ र ६३ वर्षीय पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
थपिएका सबै समुदायका व्यक्ति हुन् । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यसपछि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
आज थपिएका कोरोना सङ्क्रमित शुरुमा पहिचान भएकाहरुकै नजिकका व्यक्ति रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।
कन्ट्याक्ट ट्रेसिङबाट १ सय २७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।
भानु नगरपालिकामा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
