काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा ? के गर्न पाइन्छ ? के पाइँदैनकाठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा आज रातिदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुने भएको छ ।
कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म लागू हुने गरी निषेधाज्ञा लगाइएको हो।
बुधबारदेखि एक हप्तासम्म औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७ बुँदे निर्णय गरिएको छ ।
अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापारव्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ। अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेकका गाडी काठमाडौँ प्रवेशमा समेत निषेध गरिएको छ।
जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक गाडीसमेत सञ्चालन गर्न पाइने छैन । कोभिड –१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको तस्वीरसहितको परिचयपत्रका आधारमा बिहान ९ देखि १०:३० सम्म र बेलुका ३ देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने छन् । त्यसबाहेकका अरु गाडी सञ्चालन गर्न पाइने छैन।
सवारी साधन सञ्चालनका लागि पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वरेण्टीन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । त्यस्ता अत्यावश्यक सवारीबाहेकका सवारी पनि सञ्चालन गर्न पाइने छैन ।
कुनैपनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलूस गर्न पाइने छैन । परम्परागत रुपमा र दैनिक रुपमा भइआएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालनमा रोक्ने यसअघिको निर्णयलाई कायमै राखिएको छ।
यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिवधि रोक्ने निर्णयलाई पनि कायमै राखिएको छ । फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र त्यो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
