पुतलीबजार नगरपालिकाको सहयोगमा जिल्ला प्रशासनमा निःशुल्क हेल्थ डेस्क, सेवाग्राहीलाई स्वास्थ्य सेवासँगै एम्बुलेन्स सुविधा

स्याङ्जा । सरकारी सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्राहीले अब प्रशासनिक सेवासँगै निःशुल्क आधारभूतस्वास्थ्य सहायता पनि पाउने भएका छन्। पुतलीबजार नगरपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा बिहीबारदेखि कार्यालय परिसरमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको हो।

राष्ट्रिय परिचयपत्र, नागरिकता तथा राहदानी बनाउन आउने सेवाग्राही, विशेषगरी ग्रामीण क्षेत्रबाट पुग्ने ज्येष्ठ नागरिक, विपन्न तथा अशक्त व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको हेल्थ डेस्क हरेक सोमबार र बिहीबार उपलब्ध हुनेछ।कक्षबाट प्रारम्भिक स्वास्थ्य परीक्षण, परामर्श तथा सामान्य औषधि निःशुल्क उपलब्ध गराइनुका साथै आवश्यकता अनुसार एम्बुलेन्स सेवा पनि प्रदान गरिनेछ। यसका लागि कार्यालय समयभर एम्बुलेन्स तयारी अवस्थामा राखिने व्यवस्था गरिएको छ।

Advertisement

नगर प्रमुख तुलसीराम रेग्मीले नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। “सरकारी सेवा लिन आउने नागरिकले आधारभूत स्वास्थ्य सेवा पनि सहज रूपमा पाऊन् भन्ने उद्देश्यले हेल्थ डेस्क सञ्चालन गरिएको हो। यसले सार्वजनिक सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउने विश्वास लिएको छु,” उहाँलेभन्नुभयो। यस्तै, प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले नागरिकलाई सेवा लिन सहजता हुनु नै सुशासनको अनुभूति भएको बताउनुभयो। “प्रशासनिक सेवा र स्वास्थ्य सेवालाई जोड्ने यो प्रयासले नागरिकमैत्री प्रशासन निर्माणमा सकारात्मकयोगदान पुर्‍याउनेछ,” उहाँले भन्नुभयो।

सरकारी सेवा प्रवाहलाई नागरिकको स्वास्थ्य र सहजतासँग जोड्ने यो पहलले विशेषगरी ज्येष्ठ नागरिक तथा अशक्त सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

More News last news
Loading...