मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा

काठमाण्डौ । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको सरकारले जनाएको छ । आउँदो मङ्गलवार माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाउन लागिएको हो ।

देशभर खोप पुर्‍याइएको र स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने काम भइरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन शाखाले आग्रह गरेको छ ।

Advertisement

किशोरावस्थामै खोप दिन सकेमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलालाई जोगाउन सकिने खोप शाखा प्रमुख डा.अभियान गौतमले बताउनुभयो ।

अभियानका क्रममा हरेक सरकारी तथा निजी विद्यालयमा गएर खोप लगाउने र विद्यालय बाहिरका किशोरीलाई नजिकको पायक पर्ने विद्यालयमा व्यवस्था मिलाइएको डा.गौतमले बताउनुभयो । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाहरुमा गएर पनि खोप लगाउन सकिने उहाँको भनाइ छ।

जोखिम क्षेत्रका धेरै किशोरीहरु खोप लगाउन छुटेमा सबन्धित समुदायमै पुगेर पनि खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ। एचपीभी खोपको मात्रा एक डोज लगाए जीवनभर पुग्ने र पाठेघरको मुखको क्यान्सरको जोखिम धेरै कम हुने भएकाले खोप अभियानमा सहभागी हुन सरकारले आग्रह गरिरहेको छ।

More News last news
Loading...