होटल बाराहीलाई अन्तर्राष्ट्रिय सफलता, ‘टफ्ट टाइगर’ को प्रमाणपत्र प्राप्त

काठमाण्डाै । ‘ट्राभल अपरेटर्स फर टाइगर’ (टफ्ट टाइगर) ले होटल बाराही काठमाण्डाैलाई ‘इको फुटप्रिन्ट’ प्रमाणपत्र प्रदान गरेको छ । पर्यावरणीय सन्तुलन कायम गर्दै दिगो विकासमा असल अभ्यास तथा सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको उल्लेख गर्दै ‘टफ्ट टाइगर’ ले बाराही काठमाण्डाैलाई प्रमाणपत्र प्रदान गरेकाे हाे ।

विभिन्न मापदण्डमा आधारित भई गरिएको मूल्याङ्कपछि होटलले ‘इकाे फुटप्रिन्ट’ प्रमाणपत्र प्राप्त गरेको बाराही होटलका महाप्रबन्धक रोशन सापकोटाले बताउनुभयो । उहाँका अनुसार ‘टफ्ट टाइगर’ ले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगस्टसम्मका लागि ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’ का रूपमा होटललाई प्रमाणपत्र प्रदान गरेको हो ।

Advertisement

‘टफ्ट टाइगर’ ले ‘इको फुटप्रिन्ट रेटिङ’ मा चार वटा मापदण्ड समावेश गरेको थियो । ‘रेटिङ’ मा होटलको वातावरणीय प्रभावलाई माध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्ड अनुरूप नै भएको उल्लेख गरेको छ ।

होटलका कर्पोरेट निर्देशक योगेन्द्र विक्रम थापाले बाराही होटल दिगो विकासमा सधैँ चिन्तित रहेको र संस्थापकसहित सम्पूर्ण कर्मचारी तथा सरोकारवालाको मेहनत र साथले यो उपलब्धि हासिल भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवम् प्रतिनिधिले बाराही होटलको उदाहरणीय अभ्यासलाई सिङ्गो होटल तथा रेस्टुरेन्ट व्यवसाय र समग्र पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले होटलहरूले मूल्यको प्रतिस्पर्धाबाट बाहिर निस्किएर गुणस्तरमा केन्द्रित हुँदै पर्यटक भित्र्याउन बाराहीले जस्तै प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल ट्राभल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) महासचिव युविका भण्डारीले दिगो विकासलाई प्राथमिकतामा राख्दै होटल निर्माण र सञ्चालन सामान्य विषय नभएको उल्लेख गर्दै यस प्रकारको अभ्यास सामान्य जीवनयापनमा लागू गर्न सबै जना सचेत हुनुपर्नेमा जोड दिनुभयाे ।

होटल सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले होटल बाराही काठमाण्डाैले दिगो विकासमा दिएको योगदानमा खुशी व्यक्त गर्दै सरकारले पनि यस्ता प्रमाणीकरणका लागि मापदण्ड बनाउन पर्यटन विभागमा पहल गर्ने बताउनुभयो ।

More News last news
Loading...