काठमाण्डाै । भारतलाई १९ वर्षमुनिको एकदिवसीय विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । चन्दलाई तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको लुम्बिनी लायन्सले जनाएको छ ।
३१ वर्षीय चन्दले ९० टी–२० क्रिकेटमा तीन शतक र सात अर्धशतकसहित एक हजार सात सय ९५ रन बनाएका छन् । उनले चर्चित फ्रेन्चाइज लिग आईपीएल पनि खेलेका छन् । चन्दले सन् २०१२ मा कप्तानका रूपमा भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका थिए ।
अहिले उनले अमेरिकाको मेजर लिग क्रिकेट खेलिरहेका छन् । लुम्बिनीले यसअघि इङ्गल्यान्डका विकेटकीपर ब्याटर टम मुर्स र अस्ट्रेलियाका अलराउन्डर बेन कटिङलाई अनुबन्ध गरेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीको मुख्य प्रशिक्षकमा नन्दन पाडनिस छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
