ओमानमा नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस भव्य रुपमा सम्पन्न

नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा मिति २०८१।०६।०१ गते तद्‌नुसार सन् २०२४ सेप्टेम्बर १७ का दिन नेपाली राजदूतावास, मस्कटद्वारा इन्टरकन्टिनेन्टल मस्कट होटलमा एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको प्रमुख अतिथिको रूपमा ओमान सरकारका अर्थव्यवस्था मन्त्री (Minister of Economy) महामहिम डा. साइदबिन मोहमद बिन आहमद अल सक्री सहभागी हुनुभएको थियो।

ओमानको सरकारी प्रतिनिधिमण्डलमा प्रमुख अतिथि सहित स्टेट काउन्सिल र शुरा काउन्सिलबाट दुई-दुई जना तथा परराष्ट्र मन्त्रालयकाएसिया-प्यासिफिक विभागरअरब विभागका प्रमुखहरुको सहभागिता थियो। कार्यक्रममा कूटनीतिक नियोगका प्रमुख एवं कूटनीतिज्ञहरु, सञ्चारकर्मीहरु, पर्यटन तथा उद्योग व्यवसायीहरु, ब्लगरहरु, नेपाली समुदायका प्रतिनिधिहरु, राजदूतावासका कर्मचारीहरु सहित २३० भन्दा बढी अतिथिहरुको सहभागिता रहेको थियो।

Advertisement

ओमानका लागि नेपाली राजदूत महामहिम डोरनाथ अर्यालले परम्परागत पानस दीप प्रज्वलन गरी औपचारिक कार्यक्रमको शुरूआत गर्नु भएको थियो। राजदूत अर्यालले अतिथिहरुलाई स्वागत गर्दै संविधानका मुख्य विशेषताहरुमाथि प्रकाश पार्नु भएको थियो। नेपालको संविधानले शान्ति, स्थायित्व, आर्थिक एवम् सामाजिक विकासका लागि मार्ग प्रशस्त गर्नुका साथै समावेशी लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात् गरी राज्यका हरेक अंगमा अनिवार्य ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको उहाँले बताउनुभयो।

मन्तव्यका क्रममा राजदूत अर्यालले सन्१९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र ओमानबीच सौहार्दता, मित्रता र आपसी विश्वासमा आधारित उत्कृष्ट सम्बन्ध रहेको बताउदै दुई देशबीच यस वर्ष भएका महत्वपूर्ण औपचारिक भ्रमणहरूको बारेमा जानकारी गराउनु भयो। उहाँले गत अगस्त २६ र २७ तारिखमा ओमानका परराष्ट्र मन्त्री महामहिम सायिद बदर बिन हामद बिन हामुद अल बुसाःइदीको औपचारिक नेपाल भ्रमणको बारेमा जानकारी गराउनुका साथै नेपालको परराष्ट्र सचिव श्री सेवा लम्सालको नेतृत्वमा ओमानमा गत अगस्त ५ देखि ९ सम्म भएको द्विपक्षीय संयन्त्रको पहिलो बैठकमाथि प्रकाश पार्नु भएको थियो।

यसका साथै लगानी, व्यापार आदि क्षेत्रमा विभिन्न समझदारी तथा सम्झौताका मस्यौदामा छलफलको लागि गत अगस्ट१ देखि ५ सम्म ओमानका परराष्ट्र मन्त्रालयको कानुन विभागका प्रमुख राजदूत सुलेमान साउद अली अजिज अल जाब्रिको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डलले गरेको नेपाल भ्रमणको बारेमा समेत जानकारी गराउनु भएको थियो।

राजदूत अर्यालले नेपालमा रहेको अपार जलविद्युत सम्भाव्यता, लगानीको सम्भावना, पर्यटकीय आकर्षण लगायत नेपाल सरकारले अवलम्बन गरेको उदारवादी नीतिमाथि जोड दिनु भयो। ओमान सरकारको विकासको दीर्घकालीन नीतिओमान भिजन २०४० को प्रशंसा गर्दै उहाँले विभिन्न क्षेत्रमा २२ हजारभन्दा बढी नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकोमा ओमान सरकारप्रति आभार व्यक्त गर्नु भयो।

कार्यक्रममा प्रमुख अतिथि र राजदूतले संयुक्त रुपमा उत्सवको केक काट्नु भएको थियो। नेपाली राजदूतावासले कार्यक्रमस्थलमा नेपाली फूड कर्नर स्थापना गर्नुको साथै नेपाली उत्पादन तथा हस्तकलाका सामाग्रीहरू, सुन्दर पेन्टिङहरू प्रदर्शन गरेको थियो। कार्यक्रममा पर्यटन प्रवर्द्धनात्मक भिडियो पनि प्रदर्शन गरिएको थियो। कार्यक्रमको सञ्चालन राजदूतावासको नियोग उपप्रमुख तथा द्वितीय सचिव श्री बिशेष कुमार साहले गर्नु भएको थियो।

More News last news
Loading...