भारत र बाङ्ग्लादेशबीच चल्दै आएको ‘माछा कूटनीति’ सङ्कटमा

काठमाडौँ । आउँदो अक्टोबरमा राज्यको सबैभन्दा ठूलो पर्व दुर्गापूजा मनाउने तयारी गरिरहेका भारतको पश्चिम बङ्गालका मानिसहरूले यसपालि हिल्सा माछाको अभावको सामना गर्नुपर्ने हुनसक्छ। हिल्सा माछा बङ्गालीहरूबीच निकै लोकप्रिय छ। विश्वको सबैभन्दा ठूलो हिल्सा माछा उत्पादक बाङ्ग्लादेशले छिमेकी मुलुक भारतमा हिल्सा ढुवानीमा कडाइ गरेको र यसको निर्यातमा लामो समयदेखि प्रतिबन्ध लगाएका कारण यस्तो अवस्था आएको बीबीसीले जनाएको छ।

ढाकामा नयाँ सरकारले कार्यभार सम्हालेको एक महिनापछि सुरु गरिएको नयाँ प्रयाससँगै यी लोकप्रिय माछाका निम्ति बाङ्ग्लादेशकै उपभोक्ताहरूलाई प्राथमिकतामा राखिएको बाङ्ग्लादेशको मत्स्य तथा पशुपन्छी मन्त्रालयकी सल्लाहकार फरिदा अख्तरले बताइन्। “प्रशस्त माछाहरू (प्रतिबन्ध हुँदाहुँदै पनि) बाङ्ग्लादेशबाट भारततिर गइराखेका छन्। यस पटक हामी हिल्सालाई सीमा काट्न दिने छैनौँ,” उनले भनिन्।

Advertisement

हिल्सा माछा के हो ?

हिल्सा बाङ्ग्लादेशको राष्ट्रिय माछा हो। तर धनी र मध्यम वर्गले मात्र किन्न सक्ने र गरिबले नसक्ने भएकाले यो निकै विलासी मानिन्छ। ‘अघिल्लो सरकारले दुर्गापूजाको समयमा प्रतिबन्ध फुकुवा गर्थ्यो। उनीहरू यसलाई उपहार भन्थे। यसपटक हामीले उपहार दिनु आवश्यक छ जस्तो लाग्दैन किनकि भारतमा ठूलो सङ्ख्यामा हिल्सा निर्यात गर्न अनुमति दिँदा हाम्रा मानिसहरूले माछा खान पाउँदैनन्,” अख्तरले भनिन्।

यो अडानले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको भारतसँगको प्रख्यात “हिल्सा कूटनीति”मा स्पष्ट विचलनको सङ्केत गर्छ। उनले चाडपर्वको समयमा माछाका खेप भारत ढुवानी गर्न अनुमति दिने गर्थिन्। हसिनाले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीलाई पटकपटक हिल्सा माछा पठाएकी छन्। लामो समयदेखिको पानीसम्बन्धी विवाद समाधानको अपेक्षामा उनले सन् २०१७ मा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई ३० किलो हिल्सा उपहार दिएकी थिइन्।

शेख हसिनाका विषयमा भारतसँग के विकल्प छ ?

विद्यार्थी नेतृत्वमा हप्तौँ लामो प्रदर्शन व्यापक राष्ट्रव्यापी अशान्तिमा परिणत भएपछि हसिना गत अगस्ट ५ मा नाटकीय रूपमा पदबाट हटाइएकी थिइन्। सुरुमा उनी छोटो समयका निम्ति भारतमा बस्ने अपेक्षा गरिएको थियो। तर बेलायत, अमेरिका र यूएईमा शरण प्राप्त गर्ने उनको प्रयास अहिलेसम्म असफल देखिन्छ।

उनको निरन्तरको भारत बसाइले ढाकाको नयाँ अन्तरिम सरकारसँग बलियो सम्बन्ध विकास गर्ने दिल्लीको प्रयासलाई पनि जटिल बनाएको छ। बाङ्ग्लादेश भारतको एक प्रमुख रणनीतिक साझेदार र सहयोगी हो। विशेष गरी उत्तरपूर्वी राज्यहरूतर्फका सीमा सुरक्षाका कारण पनि भारतका निम्ति बाङ्ग्लादेश निकै महत्वपूर्ण छ।

पुनर्विचार होला ?
नयाँ अन्तरिम सरकारले हिल्साको आपूर्तिलाई अनुमति दिएर भारतलाई सद्‍भावनाको सङ्केत गर्छ कि भन्ने प्रश्‍नमा अख्तरले भनिन्, “हामी अन्य सबै तरिकाले सद्‍भावनाको सङ्केत गर्ने छौँ। उनीहरू हाम्रा मित्र हुन्। तर हामीले हाम्रा मानिसलाई अभावमा राखेर केही गर्न सक्दैनौँ।”

“सद्‍भावनाको प्रश्न योबाट अलग छ।” बाङ्ग्लादेश हिल्सा (टेन्युअलोसा इलिशा) उत्पादनको अग्रणी हो। यो प्रजाति बङ्गालको खाडी र त्यस क्षेत्रका नदीमा प्रशस्त मात्रामा पाइन्छ। यो माछाले बाङ्ग्लादेशको कुल माछा उत्पादनमा करिब बाह्र प्रतिशत हिस्सा ओगटेको छ र कुल गार्हस्थ्य उत्पादनमा करिब एक प्रतिशत योगदान दिन्छ। माछा मार्नेहरूले वार्षिक छ लाख टन माछा समात्छन्, जसमध्ये अधिकांश समुद्रबाट ल्याइन्छ।

खानेकुराले कसरी नेपालीको गरिबी देखाइरहेको छ?

सन् २०१७ मा यो माछाले बाङ्ग्लादेशका निम्ति ‘जिओग्राफिकल इन्डिकेटर’ अर्थात् भौगोलिक सूचकको मान्यता प्राप्त गरेको थियो। वरिष्ठ मत्स्यपालन अधिकारी नृपेन्द्रनाथ विश्वासले ‘दी डेलीस्टार न्यूजपेपर’लाई बताएअनुसार गएका वर्षहरूमा दुर्गापूजाका समयमा सरकारले ३,००० देखि ५,००० टनसम्म हिल्सा निर्यात गर्न अनुमित दिन्थ्यो। “तर देशमै माछाको अभवाको स्थितिलाई हेरेर सरकारले यो वर्ष हिल्साको निर्यातमा रोक लगाउने निर्णय गरेको छ,” उनले भने।

तर बाङ्ग्लादेशी सञ्चारमाध्यमका प्रतिवेदनहरूले निर्यात प्रतिबन्धका बाबजुद स्थानीय बजारमा हिल्साको मूल्य बढेको देखाएको छ। डेढ किलो हिल्सा १,८०० टाका (१५ डलर) मा, १.२ किलो १,६०० टाकामा र एक किलो १,५०० टाकामा बेचिन्थ्यो। तर गत वर्षभन्दा अहिले यो मूल्य १५० देखि २०० टाकाले बढेको व्यापारीहरू बताउँछन्।

प्रशस्त रूपमा माछा मार्न नसिकएका कारण मूल्य बढेको माछा मार्ने काम गर्दै आएकाहरू बताउँछन्। यही पेसा गर्दै आएका हुसैन मियाले भने, “यो तीन महिनामा हामीले पाँच पटक समुद्रमा जाने कोसिस गर्‍यौँ। तर खराब मौसमका कारण फर्किनुपर्‍यो।” सीमाका दुवैतर्फका बङ्गालीहरू हिल्सालाई पवित्रजस्तै मान्दछन् र यसको अभावले धेरै मानिसहरूलाई निराश बनाउने छ।

विविध तरिकाका पवकानका निम्ति यो माछा लोकप्रिय छ। यसलाई धेरै तरिकाले पकाइन्छ। उदाहरणका लागि यसलाई सर्स्युँको लेदोसँग बफ्याइन्छ, जसले यसको स्वादलाई बढाइदिन्छ। त्यस्तै ‘कुरुमकुरुम’ बनाउनका निम्ति यसलाई हलुका मसलाको ‘कोटिङ’ गरेर तेलमा तारिन्छ। बङ्गाली-अमेरिकी खाद्य इतिहासकार तथा लेखक चित्रिता बनर्जी यस माछाको बारेमा चर्चा गर्ने धेरै लेखकहरूमध्ये एक हुन्।

“मलाई लाग्छ लामो समयदेखि बङ्गाली खानाको प्रतीकका रूपमा यसको भूमिका हुनुमा धेरै तत्त्वहरूको संयोजन छ। यसको भौतिक सौन्दर्य पनि त्यसमध्येको एउटा हो, जसले बङ्गाली लेखकहरूलाई यसलाई ‘जलको प्रिय’ वा ‘माछामध्येको राजकुमार’का रूपमा वर्णन गर्न प्रेरित गरेको छ,” एक अन्तर्वार्ताकारसँग उनले भनेकी छन्। “यसको नरम मासु (हाडसहितको भए पनि), सुक्खापन, सुन्दर ढाँचा तथा गजबको स्वादको मिश्रणले गर्दा यो धेरै प्रकारले पकाउन एकदम सही छ।”

More News last news
Loading...