काठमाडौं । नेपाल पुलिस स्कुल साँगाले प्रथम एनएपिएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाल एपीएफ स्कुल कीर्तिपुरको १९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० को उपाधी आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) लाई सडन डेथमा हराउँदै नेपाल पुलिस स्कुल साँगाले चुमेको हो ।
निर्धारित समय गोलरहित बराबर र पेनाल्टी सुटआउटमा ४–४ को बराबरी भएपछि निर्णय सडन डेथमा भएको थियो । पेनाल्टीमा समग्रमा ६–५ ले पुलिस स्कुल विजयी भएको थियो ।

पुलिस स्कुलका दिपसन परियार उत्कृष्ट गोलरक्षक र एपिएफ स्कुल कीर्तिपुरका टेन्जिङ्ग शेर्पाले उत्कृष्ट खेलाडी चुनिए । सैनिक आवासीय महाविद्यालयका दिग विजय शाहीले उच्च गोलकर्ता बने र उनले गोल्डेन बुट प्राप्त गरेका छन् । सैनिक महाविद्यालय फेयर प्ले टोली घोषित भएको थियो ।
प्रमूख अतिथि तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरेका थिए । गत माघ २२ गतेदेखि संचालन भएको प्रतियोगितामा उपत्यकास्थित विभिन्न विद्यालयका १७ र काभ्रे जिल्लाबाट १ गरी कुल १८ विद्यालयका १९ टोलीको सहभागिता रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
