क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटमा नेपालको क्लिन स्वीप

काठमाडौं । क्यानडा विरुद्धको ३ दिने एकदिवसीय सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ। सोमबार भएको अन्तिम खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो। यसअघिका दुवै खेल नेपालले जितेको थियो।

अन्तिम खेलमा नेपालको जितका लागि ब्याट्सम्यान अनिलकुमार शाह र भीम सार्कीले शतक प्रहार गरे। अनिलले ११६ बल खेल्दै शतक पूरा गरेका हुन् भने भीमले १२७ बलमा सय रन हानेका हुन्। अनिलले १२ चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाए भने भीमले ११ चौका र १ छक्का हान्दै १ सय १ रन बनाई अविजित रहे।

Advertisement

यी दुईले दोस्रो विकेटमा १ सय ८९ रनको अविजित साझेदारी गरेका थिए, जुन नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठुलो साझेदारी हो । यसअघि कुशल भुर्तेल र आसिफ शेखले अक्टोबरमा जिम्बावेविरुद्ध विश्वकप छनोटमा हरारेमा १ सय ७१ रनको साझेदारी गरेका थिए।

नेपालका अर्का ओपनर कुशल भुर्तेल भने १४ बलमा १३ रन बनाउँदै आउट भए। भुर्तेललाई डिलोन हेलिगरले बोल्डआउट गरे।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभर खेली ८ विकेट गुमाई २ सय ३२ रन बनाएको थियो ।

नभनित ढालिवालको अर्धशतक र निखिल दत्तको सानदार इनिङ्समा क्यानडाले सम्मानजनक स्कोर बनाएको थियो । ढालिवाल ठिक ५० रन बनाई आउट भए। उनले ८२ बल खेली ५ चौका प्रहार गरे । ४८ औं ओभरमा रन आउट भएका दत्तले ६२ बलमा ४५ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका हेमन्त धामीले आरोन जोन्सनलाई ४ रनमा आउट गरी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। उनले ३ विकेट लिएर आफ्नो पहिलो खेललाई स्मरणीय बनाए । हेमन्तले ८ ओभरमा ४९ रन खर्चे।

क्यानडाबाट कप्तान साद बिन जाफर ३१ रन बनाई अविजित रहे । उनले १५ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । श्रीमान्था विजेयरत्ने २८ बलमा २ चौकासहित २२, निकोलास कीर्तन ३, हर्ष ठाकेर ५७ बल खेली २ चौकासहित २९, श्रेयास मोभ्भा २९ बल खेली १ चौका प्रहार गरी २५, डिल्लोन हेलिगर ४ रन बनाई आउट भए ।

नेपालबाट हेमन्तबाहेक कुशल मल्लले २ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३८ रन खर्चे । ललित राजवंशी र आकाश चन्दले १–१ विकेट लिए ।

नेपालले पहिला खेल ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो । नेपालले बिहीबार देखि सुरु हुने विश्वकप लिग २ को तयारीका लागि क्यानडासँगको शृङ्खला खेलेको हो । नेपालले लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग २–२ खेल खेल्ने छ ।

More News last news
Loading...