नेपाल सुपर लिग : इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले स्पोर्टिङ्ग इलाम एफसीलाई १–० गोलले पराजित गरेको छ । पोखराको लागि सन्जीव विष्टले ४७ औँ मिनेटमा गाल गरे । आजको जितसँगै पोखरा आठ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

चार खेलमा इलामले तेस्रो हार सामना गर्दा पोखराले भने दोस्रो जित निकालेको छ । इलामले एक मात्र जित झापा एफसीमाथि निकालेको थियो । यता, अपराजित पोखराले यसअघि एफसी चितवनलाई हराउँदा ललितपुर सिटी र झापासँग बराबरी गरेको थियो । यो जितसँगै पोखरा आठ अङ्कसहित शीर्ष स्थानमा रहँदा इलामको तीन अङ्क छ ।

Advertisement

पोखराले इलामविरुद्ध दबाबमा रहेर खेलको शुरुवात गरे पनि दोस्रो हाफमा पुनरागमन गर्‍यो । पहिलो हाफमा पोखराले एउटा पनि आक्रमण बनाउन सकेन र पूर्ण रूपमा इलामको दबाबमा रहेर खेल्यो । दोस्रो हाफमा मार्की खेलाडी आयुष घलानको प्रवेशसँगै पोखराले पुनरागमन गर्‍यो ।

त्यसअघि छैटौँ मिनेटमा नै इलामको पहिलो आक्रमण बन्यो । इब्राहिम जितेको पासमा ओमार थिओमको हेडर माथिल्लो बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो । १३ औँ मिनेटमा फोडे क्यामराले कर्नर साइडबाट गरेको प्रहार दोस्रो नजिकैबाट बाहिर गयो । इलामले २३औँ मिनेटमा पाएको फ्रिकिकको सदुपयोग गर्न सकेन ।

करिब २५ यार्डबाट इब्राहिमको प्रहार पोखराका गोलकिपर प्रिसोले सहजै रोके । २९ औँ मिनेटमा फोडको प्रहार प्रिसोले डाइभ गर्दै बाहिर पठाए । आशिष गुरुङले ४२ औँ मिनेटमा इलामलाई अग्रता दिलाउने अवसर गुमाए । पेनाल्टी क्षेत्रमा उनको फ्रिहेडरले पोस्टको दिशा दिन सकेन । इलामका लागि ४५ औँ मिनेटमा ओमरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार प्रिसोले रोक्दै सङ्कट टारे । पहिलो हाफमा इलामले एकपक्षीय रूपमा दबाब बनाए पनि गोल हुन भने सकेन । पोखराले दोस्रो हाफको सुरुवातमा नै गोल गर्‍यो ।

४६औँ मिनेटमा मोसे तुमले पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहार पहिलो बारमा ठोक्किँदै इलामका गोलकिपर विकेश कुथूको ढाडमा लागेर गोललाइन हुँदै अर्को कर्नर पुग्यो । सोही बल नियन्त्रणमा लिँदै पोखराका आयुष घलानले गरेको प्रहार इलामले क्लियर गरिदिए । आयुषकै कर्नर प्रहारमा इलामका ओमारको खुट्टामा डिफ्लेक्ट भएको बललाई पोखराका सञ्जीव विष्टले वान टच मार्फत गोलमा परिणत गराएका हुन् । आयुष दोस्रो हाफमा मैदान प्रवेश गरेसँगै दबाब बनाउन शुरु गरेको पोखराले गोल पनि गर्‍यो । खेलको पहिलो आक्रमणमा नै पोखराले गोल गरेको हो ।

६७ औँ मिनेटमा इलामका डिफेन्डर विमल पाण्डेले गोल गर्ने सुन्दर अवसर खेर फाले । करिब ३५ यार्ड टाढाबाट फोडेको फ्रिकिक प्रहारमा अनमार्क रहेका विमलको हेडरले सही दिशा लिन सकेन । इलामका इब्राहिमले ८० औँ मिनेटमा खेलमा फर्कने अवसर सदुपयोग गर्न सकेनन् ।

More News last news
Loading...