काठमाण्डाै । नेपालको युवा क्रिकेट टोलीले कप्तान देव खनालले एसीसी १९ वर्षमुनिकाे एसिया कपकाे सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज मङ्गलवार गरेकाे बिदाइ कार्यक्रममा नेपाली १९ वर्षमुनिकाे क्रिकेट टाेलीका कप्तान देव खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने बताएका हुन्।
१९ वर्षमुनिकाे एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको समूह ‘ए’ मा छ ।
नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको १९ वर्षमुनिकाे टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्याउन आतुर रहेको प्रतिक्रिया दिए ।
राष्ट्रिय टोलीले पनि राम्रो गरिहेको र आफूहरू पनि हरेक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए । भारत र पाकिस्तानसँगकाे खेलमा राम्रो रन बनाउनु वा विकेट लिनु युवा टाेलीका लागि राम्रो अवसर रहेकाे उनकाे भनाइ छ ।
सन् २०१७ मलेसियाकाे क्वालालम्पुरमा भएकाे १९ वर्षमुनिकाे एसिया कपअन्तर्गत समूह चरणकाे खेलमा नेपालले भारतलाई १९ रनले हराएकाे थियाे । १९ वर्षमुनिकाे एसिया कप यही शुक्रवारदेखि पुस १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ ।
प्रतियाेगिताकाे समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, जापान र यूएई छन् । समूह ‘बी’ काे तुलनामा समूह ‘ए’ नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतीपूर्ण हो । भारतले ८ पटक र पाकिस्तानले १ पटक १९ वर्षमुनिकाे एसिया कपकाे उपाधि जितेका छन् । यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मबलका साथ प्रतियाेगिताकाे तयारी गरेकाे छ ।
नेपाली युवा टाेलीका प्रशिक्षक जगत टमटाले राष्ट्रिय टाेलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफूहरू थप उत्साहित रहेको प्रतिक्रिया दिए । यो यात्रा अगाडि राष्ट्रिय टोलीसँगकाे अभ्यास खेलले पनि युवा टोलीले राम्रो ‘एक्सपोजर’ पाएको उनको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
