काठमाण्डाै । आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।
पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ।
आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनुभयो । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ।
यस्तै, सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनु भएको छ ।
सहरी क्षेत्रमा दुई गुना बढे मुटुरोगी
मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले सहरी क्षेत्रमा मुटुरोगीको संख्या डरलाग्दो गरी बढेको बताएका छन् । ‘सहरी क्षेत्रमा खानपान र जीवनशैलीमा परिवर्तन आएको छ । धूमपान र मद्यपान गर्ने, मासु र जंकफुड बढी खाने, शारीरिक व्यायाम नगर्ने, शरीरको तौल नियन्त्रणमा नराख्ने, चिन्ता, भय, तनाव र प्रदूषणका कारण मुटुरोगीको संख्या दुई गुना बढेको छ । यो भनेको डरलाग्दो अवस्था हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने।
युवाहरु नै मुटुरोगको सिकार हुनु चिन्ताजनक भएको पनि डा. भट्टराईले औंल्याए । उनले भने, ‘सामान्यतः मुटुरोग ४० वर्ष काटेपछि लाग्ने हो । तर ३०, ३५ वर्षको उमेरमै हार्ट अट्याकका समस्या आएका छन् । उच्च रक्तचाप, मधुमेह, हार्टएट्याक, कार्डियो भास्कुलर डिजिज हुन् । मुटु र रक्तनलीसँग सम्बन्धित छन् । पहिले क्यान्सर नम्बर वन किलर थियो भने, अहिले मुटुरोग देखिएको छ ।’
मुलुकको २० देखि २५ प्रतिशत जनसंख्यामा मुटुको कुनै न कुनै समस्या रहेको पनि उनले बताए । मुटुरोग लाग्न नदिन खानपानमा ध्यान दिने, जंकफुड नखाने, हरेक दिन आधा घण्टा एक्ससाइज गर्ने, शरीरमा सुगर र कोलेस्टेरोल कम गर्नुपर्ने डा. भट्टराईको सुझाव छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
