हुबासको हराएको सुबास अर्थात मिसन अस्पताल

प्रेम पथिक l भिम घिमिरे रेडियो नेपालका प्राबिधिक अधिकृत हुन् । प्राय हामी सबैले उनलाई भिदा भनेर बोलाउँछौँ । केहि रोचक, खोजपूर्ण र अत्याबस्यक समाचार भेट्यो कि इनबक्समा पठाई हाल्ने उनको बानी छ । केहि दिन अगाडी भिदाले एउटा समाचारको लिंक पठाए । समाचार थियो ” बाइस वर्षदेखि मिसन अस्पताल बन्द” । राटोपाटीमा प्रकाशित यो खबर रासस बाट साभार गरिएको रहेछ । खबर पढी सके पछि मेरो मनमा धेरै कुरा खेल्यो र हुबास पुग्ने हुटहुटी जाग्यो ।

मैले यो खबरको लिंक अमेरिका निवासी देउराली फाउण्डेशनका संस्थापक माधब मरासिनीलाइ पठाए । देउराली फाउन्डेशनले नेपालका ग्राम्रिण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा परोपकारी काम गरिरहेकोले माधब सरलाइ यो खबरले निक्कै भाबुक बनायो सायद । केहि घण्टा पछि उहाँले कल गरेर भन्नुभयो, ‘पथिक जी ! यो अस्पताल किन बन्द भयो रु यत्रो बर्षसम्म किन पुनः संचालन हुन सकेन ? अब यो सम्भावना छ कि छैन एक पटक स्थलगत अध्ययन गर्न पर्यो ।’ मलाइ उहाँको कुराले साह्रै उर्जा मिल्यो । मैले देउराली फाउण्डेशनका अध्यक्ष समेत रहेका भिदालाई फोन गरे । अनि हामी स्थलगत अध्यनमा जाने निर्णयमा पुग्यौं । हाम्रो समुहले कुनै महत्वपुर्ण निर्णय लिँदा सल्लाह लिने एक मात्र व्यक्ति बिपा अर्थात् बिनोद पहाडी हुन् । उनी संबिधानसभा सदस्य, श्रमजीविको पक्षमा संधै उभिने नेता अनि हामीले सुख दुखमा समाउने भरपर्दो हाँगा हुन् । मैले यो कुरा उनलाई पनि शेयर गरे । हामी ३ भाइ हुबास जान तयार भयौं । पुग नपुग बाटो खर्च लोठ अर्थात लोकेन्द्र ठटाल मार्फत प्राप्त जुर्यो ।

Advertisement

भिदाको मुस्किलले दुइ दिनको छुट्टी मिल्यो आज गएर भोलि फर्किने । मुग्लिन पोखरा सडक खण्ड स्तरोन्नति भैरहेकोले त्यहि दिन हुबास पुग्न सम्भब थिएन । यसकारण भिदालाइ तीनवटा हवाई टिकट जरिबाना गराइयो । हाम्रो टोलि बिहानै पोखरा पुग्यो । एयरपोर्टबाट गुरुङ ठागुले चिलले चल्ला टिपेझैँ हामीलाई टिपे र गाडीमा राखेर कुदाए । भिडभाड नरुचाउने ठागुले छोरेपाटनबाट बैकल्पिक बाटो तताए । हामी बिस्तारै डांडा तिर उकालो लाग्यौ । रमाइलो दृश्य, बिपाका राजनीतिक सामाजिक अनुभबहरु, भिदाका रमाइला किस्साहरु र मेरा गीतका तुक्काहरूले बाटो छोट्टिदै थियो ।

बैकल्पिक बाटो स्याङ्जा बजार पुगेर मूल बाटोमा जोडियो । स्याङ्जा पुग्दा म भाबुक भएँ । यसका केहि विशेष कारणहरु थिए । एकछिनको मौनता पछि मैले सोधे ”बयरघारी कहाँपर्छ ठागु दाइ” ? । अगाडी हिडिरहेको गाडीसंग साइड माग्दै ठगु दाइ बोले ”अगाडी बाटैमा पर्छ” किन र ? । मैले उनको पुच्छ्रे प्रश्न नसुनेझै गरि झ्यालबाट बाहिर हेरिरहे । नजिकै आधिखोला बगिरहेको थियो जहाँ उनले साँघु तर्दा धेरै पटक आफ्नो अनुहार पानीमा हेरेकी थिइन । मेरो मौनता तोड्दै ठागु दाइ बोले मेरो ससुराली आउन लाग्यो यहि राङ्ग खोला हो । हामी दुवै जना स्याङ्जाका ज्वाई थियौ तर फरक अनुभूति सहितको । गाडी राङ्ग खोलामा रोकियो हामीले फोटो खिच्यौ र पुरानो गीत ‘काँचो कटर’को सम्झना गर्यौ । गाडी फेरी अगाडी बढ्यो । गफ जारी छ । यसै बिचमा हाम्रो गाडीले बजार क्षेत्र प्रवेश गर्यों । ठागु दाइले गाडी स्लो गर्दै बोले ” यहि हो तपाइको बयरघारी फोटोचै आउदा खिचौला है ” । पारी पट्टीको सोरेक धमिलो देखिएको थियो र हेर्दा हेर्दै छोडियो ।

वालिङ्ग बजार पुगेपछि ठागु दाइले झ्यालबाट मन्टो तन्काउदै एक जना स्थानीयलाई सोधे ” हुबास जाने बाटो कता हो ” ? इशारा अनुसार गाडी दायाँ मोडियो र आधिखोलाको पुल तरेर उकालो लाग्यो । करिब २२ किलोमिटर कच्ची बाटो पार गर्दै हामी हुबास पुग्यौ । चारै तिर पहाडले घेरिएको सुन्दर फाँट हुबास तुलनात्मक रुपमा न्यानो थियो । सारै सुन्दर, ब्यबस्थित र बिस्तारित बजार पुग्ने बित्तिकै भिदाले मोही खाने इच्छा ब्यक्त गरे । हातेमालो चोक नजिकै रहेको डेरीमा हामीले मोही खायौ । भिम दाइ बोले ” मोही खास्सा रैछ ” । मलाई भने सिरपुरे काइँलाको घरको दुइ दिन पुरानो अमिलो मोहीको सम्झना आयो ।

एकै छिनमा हामीलाई लिन स्थानीय समाजसेवीहरु कृष्ण श्रेष्ठ, ओपी सेन र युबराज सेन आउनु भयो । केहि बेरको भलाकुसारी पछि गाउँपालिका अध्यक्ष राज मल्ल ठकुरीसहितको जनप्रतिनिधिको एक टोली पनि आइपुग्यो र हामी अस्पताल तिर लाग्यौ । अस्पताल बन्द भएको बाइस बर्ष भएको र जाने बाटो चलन चल्तीमा नहुदा गाडीले अप्ठेरो मान्दै थियो । प्रयोग बिहिन बाटोको झाडी पन्छाउदै हामी अस्पतालमा पुग्यौ।

करिब सात रोपनी क्षेत्रफलको सुन्दर थुम्को, अझै पनि केहि नभएको दुइ वटा बिशाल भवन, पुराना फर्निचरहरु र बन्दबस्तिका सामानहरु चुपचाप थिए । हामीले सबै संरचनाहरु हेर्यौ । अस्पतालको सृजनागर्भ देखि बन्द हुने स्थितिमा पुग्दा सम्मको कहानी सुन्यौ । स्थानीयहरुको अस्पतालसंग जोडिएका सुन्दर सम्झनाहरु सुनेर भाबुक भयौ । यहि अस्पतालले सेवा दिएर हुर्काएको हुबास अशान्त मन बोकेर शान्त थियो, वरीपरिका बस्तीहरु यहि थुम्को हेरेर निराश थिए ।

स्थानीयरूपमा उपस्थित र हाम्रोबीचमा परिचय सुरु भयो। सबैले आ-आफ्नो धारणा राख्यौ । गाउँपालिका अध्यक्षले यो अस्पतालको ऐतिहासिक पृष्ठभुमि र अबको आवश्यकता बारे बोल्नु भयो । हाम्रो तर्फबाट भ्रमणको उद्देश्य र अबको बाटो बारे बिनोद पहाडीले आफ्नो कुरा राख्नुभयो । सबैको एउटै आवाज थियो यो अस्पताल पुन संचालन गर्नैपर्छ । यहि बिन्दुमा पुगी हाम्रो टोली हुबास बजार ओर्लियो र मिठो खाजा खाएर पोखरा तर्फ अगाडी बढ्यो । अप्ठेरो बाटो, दिन ढल्दै थियो । वालिङ्ग काट्दा झमक्कै साझ पर्यो । हुबासको सुबास किन हरायो भन्ने छलफल र अब फेरी फर्काउने उपायबारे छलफल गर्दै हामी पोखरा पुग्यौ।

पोखरा पुगेपछि मैले माधब सरलाई सबै कुराहरु सुनाए । उहाँ निक्कै खूशी हुनुभयो । उहाँ यो अस्पताल जसरी पनि पुनः संचालन गर्ने उपायको खोजीमा हुनुहुन्छ र यसको सुरुवात स्वास्थ्य शिविरबाट गर्न हामीलाई निर्देशन दिनु भएको छ । यसपश्चात चाँडैनै सबै प्रक्रिया पुरागरी अस्पताल संचालन गर्ने उहाँको योजना छ । आशा गरौँ ! हुबासको सुबास फेरी फर्किने छ। (हुबासबाट फर्किए पछि पत्रकार प्रेम पथिकको यात्रा अनुभूति)

More News last news
Loading...