कांग्रेसका भातृ संस्थामा निरन्तर तदर्थवाद र कांग्रेस बन्ध्याकरण ?

मुलुकको लामो राजनीतिक इतिहास बोकेको आफ्नो नीतिमा निर्बिकल्प आफुलाई मूल प्रजातान्त्रिक पार्टी मान्ने कांग्रेसका भातृ संस्थाहरुको ब्यबस्थापनको सन्दर्भमा आफुलाई असल अभिभावक प्रमाणित गर्न चुक्दै आएको छ । भातृसंस्थाहरु पार्टीको बिचार, नीति, कार्यक्रम र संगठन निर्माणका साथ–साथै आफ्ना मुद्दाहरूमा सरोकार राख्ने विशेष बर्ग, क्षेत्र, उमेर, भूगोल आदीका आधारमा निर्माण गरिन्छ । पार्टी प्रतिबन्धित अवस्थामा हुँदा विधार्थीहरुको संगठन नेपाल विद्यार्थी संघ नै कांग्रेसको बिचार र संगठन बनेको यर्थात सर्वविवितै छ ।

२००४ मा स्थापना भएको नेपाल महिला संघ, २०१० मा स्थापना भएको तरुण दल र २०२७ मा नेपाल बिद्यार्थी स्थापना भयका ऐतिहाँसिक भातृसंस्थाहरु प्रजातन्त्र पुर्नस्थापना सँगै थपिदै गए । काँग्रेसमा हाल दर्जन बढी भातृसंस्था छन् । तिनीहरुको अबस्था अहिले भताभुङ्ग प्राय छ । प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ र साविकको नेपाल आदिबासी जनजाति संघको महाधिवेशन २०६४ साल देखि हुन सकेको छैन ।

Advertisement

यस्तै, २०६६ देखि नेपाल अपाङ्ग संघ, २०६९ देखि नेपाल दलित संघ, २०७३ देखि भु.पू सैनिक संघ, २०७५ देखि नेपाल मुस्लिम संघ, २०७३ देखि नेपाल तरुण दल, नेपाल महिला संघ र २०७९ मा नेपाल थारु संघ, नेपाल खेलकुद संघ लगायतकाले मान्यता पाए तर महाधिवेशन गर्न नसकेर ति सबै तदर्थ समिती कै भरमा छन् । राजनीति सिक्ने र राजनीतिक संस्कार दिने थलोलाई प्रजातान्त्रिक अभ्यास र संस्कारबाट पर राखेर कांग्रेसले आफुलाई कस्तो प्रजातान्त्रिक प्रमाणित गर्न खोजिरहेको छ, प्रश्न चिह्न उब्जिएको छ !

राजनीति सिक्ने र राजनीतिक संस्कार दिने थलोलाई प्रजातान्त्रिक अभ्यास र संस्कारबाट पर राखेर कांग्रेसले आफुलाई कस्तो प्रजातान्त्रिक प्रमाणित गर्न खोजिरहेको छ, प्रश्न चिह्न उब्जिएको छ !

एउटा मातृपार्टीले विधानमा निश्चित उद्देश्य राखेर लक्षित बर्गमा पार्टीलाई प्रभावकारी बनाउन गठन गरिएका भातृ संस्थाका आफ्नै विधान, आफ्नै लोगो, आदर्श, उद्देश्य, विचार, संगठन मार्फत एउटा स्वचालित ‘मेकानिजम’ तयार हुन्छ । पार्टीको आदर्शप्रति बफादार रहँदा रहदै पनि त्यो संस्थाले आफू भित्रको अभ्यास मार्फत, सदस्यता विवरण, उद्देश्य प्राप्तिका लागि गतिविधिहरु, लक्षित समुहका लागि विशेष योजना सहितको क्रियाकलाप गर्ने गर्दछन् , ठूलो समस्या नआउनजेल आत्मनिर्भर स्वचालित संरचना सहितको संगठन र संस्था निर्माण हुन्छ ।

कुनै समस्या निम्तिएमा बाधा अड्चन फुकाउन पार्टीको नेतृत्वलाई विशेष अधिकार दिइएको छ । तर समस्या सिर्जना प्रत्यक्ष अप्रत्यक्ष नेतृत्वबाट नै गरिन्छ र समाधानका नाममा तदर्थबाद लाद्न सुरु गरिन्छ ।

‘जहाँ राइट मेन राइट प्लेस’ वा योग्यता, योगदानको आधार भन्दा चाकडी, भारदारीहरुको भजन मन्डली तयार गरिन्छ । असक्षम नेतृत्वले न लक्षित समुहको एजेन्डा बोक्छ, न प्रभाबकारी उपस्थिति रहन्छ, न संगठन जीबन्त हुने गरि संगठन बिस्तार हुन्छ, चाहे जो बनोस उसको बफादारिता विरलै संगठन र लक्षितसँग रहन्छ । जसले जिम्मेवारी दियो उसैसँग बफादार रहनु अस्वभाविक रहेन ।

हरेक संगठनको महाधिवेशन एउटा महापर्ब र अमृतबुटी हो, यो बर्ष नेबिसंघले स्वबियु निर्वाचनमा गठबन्धन मार्फत तुलनात्मक राम्रो नतिजा प्राप्त गरेको छ । यसको जस स्वभावैले बर्तमान नेतृत्व र सरोकारवालाले नै प्राप्त गर्दछन्, यद्धपि महाधिवेशन बुझ्नेका लागि एउटा निर्वाचन भन्दा महाधिवेशन हजारौं गुणा महत्वपूर्ण छ ।

हरेक संगठनको महाधिवेशन एउटा महापर्ब र अमृतबुटी हो, यो बर्ष नेबिसंघले स्वबियु निर्वाचनमा गठबन्धन मार्फत तुलनात्मक राम्रो नतिजा प्राप्त गरेको छ । यसको जस स्वभावैले बर्तमान नेतृत्व र सरोकारवालाले नै प्राप्त गर्दछन्, यद्धपि महाधिवेशन बुझ्नेका लागि एउटा निर्वाचन भन्दा महाधिवेशन हजारौं गुणा महत्वपूर्ण छ ।

जस्तो, नेपाल विधार्थी संघको महाधिवेशन हुँदा देशभरका ७५३ स्थानीय तहको कार्यसमितिको अधिबेशनका लागि पालिका भित्रका देशैभरका १०,००० माध्यमिक विद्यालयको इकाई अधिवेशन गर्नका लागि करिब ९ देखि १२ कक्षा बीचमा अध्यनरत १८ लाख विधार्थीका बीचमा पुगेर आफ्नो संगठनको नीति, प्रजातान्त्रिक बिचार वि.पी. आदर्श, शैक्षिक सुधारका कार्यक्रम, आफ्नो मातृपार्टीको परिचय दिँदै, नेपाल बिधार्थी संघको सदस्यता बिद्यार्थीहरुलाई उपलब्ध गराएर विद्यालय समिति र प्रतिनिधि चयन गर्नबाट बञ्चित हुन्छन् ।

पालिका र त्रिभुवन विश्वविद्यालयका आंङ्गिक र सम्बन्ध प्राप्त ११०० बढी कलेजका करिब ४ लाख बिद्यार्थी र अरु विश्वविद्यालयहरुमा अध्ययनरत करिब थप ६७ हजार माझ पुगि नेबिसंघको आदर्श, प्रजातान्त्रिक बिचार, वि.पी चिन्तन, शैक्षिक सुधार र शिक्षाक्षेत्रमा आमूल परिवर्तनको खाका सहित सदस्यता बितरण गरी कलेजका कक्षा सुधार समिति गठन हुँदै प्रतिनिधि छनोट, इकाए समिती निर्माण हुँदै जिल्ला, विश्वविद्यालय प्रदेश, केन्द्रिय समितिमा निर्वाचन वा सहमतिमा नेतृत्व छनोट हुँदा प्रजातान्त्रिक बिचार, वि.पी. चिन्तन र नेबिसंघ २३ लाख बिद्यार्थीको बीचमा पुगेर लाखौं सदस्यको बीचबाट तयारी हुने छानिने नेतृत्व कक्षा समिति निर्माणका बखत नै धेरै जना इच्छुक हुँदा एक आपसमा सहमति वा प्रजातान्त्रिक निर्वाचनको अभ्यास गर्छन् ।

यसो गर्दा जित र हार स्वीकार्न, जिम्मेवारी लिन र दिन, मत माग्न, सिक्छन्, मतदाता प्रति बफादारिता र मत दिँदा ख्याल गर्नुपर्ने बिषयका बारेमा सिक्छन् । यो समग्र प्रक्रिया नै ब्यक्तिलाई प्रजातान्त्रिक प्रक्रियासँग लगाब पैदा गर्ने हुन्छ । व्यक्तिको मन, व्यबहारमा विधि, पद्वती र प्रजातान्त्रिक प्रक्रियासँग विश्वास बढ्छ ।

भातृसंस्थाहरुको नेतृत्व बिधि बिधान पर भागवण्डा र बिर्ता बितरण सरह नियुक्ति गरेर भातृसंस्था कब्जामा लाग्दा भातृसंस्थाहरु र जनताबीचको बिश्वास र दुरी बढ्दै गएको देखिन्छ । कालान्तरमा जनमत एकातिर कांग्रेसका नेता अर्कोतिर बन्ने, प्रजातान्त्रिक जनमतले विकल्प खोज्दै गर्दा समग्रमा लोकतन्त्र र कांग्रेसलाई ठूलो क्षति हुनेछ ।

 

भातृ संस्थाहरुको महाधिवेशन आफैँमा धेरै समस्याको समाधान हो । आज समाजको एउटा पुस्ता विधि भन्दा जादु, भगवान, हिरोइजम र लोकप्रियताबादमा जनमत बढ्नुमा कांग्रेस भातृसंस्थाहरुको महाधिवेशन नहुनु पनि उतिकै जिम्मेवार छ । समयमै नेपाल विधार्थी संघको महाधिवेशन भएको भए २३ लाख विधार्थीले प्रजातान्त्रिक बिचार र कांग्रेसँग जोडिने अवसर पाउने थिए । यस्तै, लाखौ युवाहरु तरुण दलमा, महिलाहरु महिला संघको महाधिवेशनको विधिमा सहभागी हुने अबसरसँगै प्रजातान्त्रिक विधिप्रतिको बिश्वास र कांग्रेसप्रतिको लगाब बढ्ने थियो ।

लामो समयदेखि सदस्यता समेत नखुल्दा भातृ संस्थाको सदस्यता लिने भनेर कुरेर बसेका आम युवाहरुमा चाम देखिएको छैन । सबै भातृसंस्थाहरु नियमित महाधिवेशन नहुँदा करिब एक करोडको बीचमा पार्टीको बिचार, कार्यक्रम, नवीकरण, उत्साह, जनमत, संगठन, प्रत्यक्ष पुग्ने बिषय पुर्ण रुपमा बन्देज छन् । यसरी नै हरेक भातृसंस्थाहरु माथी तदर्थवाद लाद्दै कांग्रेसको बन्ध्याकरण गर्न कांग्रेसको बर्तमान नेतृत्व उद्दत छ ।

समस्या आउला र समाधान गर्न ब्यबस्था गरिएको तदर्थ समिति गठनको विकल्पलाई दुरुपयोग गर्दै समस्या आफैँ सिर्जना गर्ने र समाधानका नाममा हस्तक्षेप गरी तदर्थ समिति लाद्ने कर्मको दीर्घकालीन र कठोर साइड इफेक्ट आगामी दिनमा विगत र बर्तमान नेतृत्वबाट अबको नेतृत्वले बोनसमा प्राप्त गर्नेछन् । कुनै निश्चित वर्ग, लक्षित समुहमा नेताहरुको बिगबिगी र संगठन बिहीन उल्टो पिरामिड संरचना तयार हुनेछ ।

व्यक्तिको विवेक भन्दा विधि मार्फत गरिने शासन न्यायिक हुने विश्वास बोकेर भगवानका अंश मानिएका राजतन्त्र र राणा, पञ्चायत शासनको अन्त्य गर्न लडेको कांग्रेस आज महाधिवेशनबाट भातृसंस्थाको नेतृत्व छान्नुको साटो तदर्थबादको अभ्यास गर्दै भातृसंस्थाहरुको नेतृत्व बिधि बिधान पर भागवण्डा र बिर्ता बितरण सरह नियुक्ति गरेर भातृसंस्था कब्जामा लाग्दा भातृसंस्थाहरु र जनताबीचको बिश्वास र दूरी बढ्दै गएको देखिन्छ । कालान्तरमा जनमत एकातिर कांग्रेसका नेता अर्कोतिर बन्ने, प्रजातान्त्रिक जनमतले विकल्प खोज्दै गर्दा समग्रमा लोकतन्त्र र कांग्रेसलाई ठूलो क्षति हुनेछ । हरेक भातृ संस्थाहरुको विधानको ब्यबस्था मार्फत रिक्त पद निर्वाचन मार्फत नै पदपूर्ति हुने बाध्यकारी ब्यबस्था गरिनुपर्दछ ।

(क्षेत्री नेपाली कांग्रेस गण्डकी प्रदेशको भातृसंस्था बिभाग प्रमुख एवं गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्य हुन् ।)

More News last news
Loading...