चिनियाँ नाका रसुवागढीबाट १३ सय सवारी साधन भित्रिए

रसुवा । चिनियाँ नाका रसुवागढीबाट १३ सय सवारी साधन नेपाल भित्रिएका छन् । चीनमा निर्मित साना ठूला गरी कूल एक हजार दुई सय ८९ थान सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ। व्यापारीले चीनबाट आयात गरेका केही सवारीसाधन भने भन्सार हातामै रहेको र भन्सार प्रक्रिया पुर्‍याइ छुटाउने कार्य भने क्रमिक रूपमा अगाडि बढिरहेको जनाइएको छ।

नेपाली व्यापारीले आयात गरेका सवारीसाधनको मात्र मूल्याङ्कन गर्ने हो भने तीन अर्ब ८९ करोड ४२ लाख बराबरको हुन आउँछ। कोरोना सङ्क्रमणपश्चात् गत चैत १८ गतेदेखि अर्थात् अप्रिल महिनाको १ तारेखदेखि नेपाली कन्टेनर सिधै केरूङ जान पाएपछि रसुवागढी नाकाबाट दुई हजारभन्दा बढी मालवाहक नेपाली ट्रक कन्टेनरले सामान बोकी केरूङ-काठमाडौँ ओेहरदोहर गरिसकेका छन्।

Advertisement

गत वर्षको फागुनसम्म प्रायः शून्य रहेको निर्यात चैत १८ यता क्रमिक रूपमा बढ्न गई रु एक अर्ब ४३ करोड दुई लाख बराबरको नेपाली माल वस्तु चीनतर्फ निर्यात भएको छ । चीनतर्फ निर्यात भएका माल वस्तुमा चाउचाउ, धातु, तामा तथा आल्मोनियमका भाडा, ऊनी गलैँचा, कार्पेट, नक्कली गहना, फलामे भाडा, डस्ना, नक्कली कपाल, अगरबत्तीलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।

तयारी कपडा, जुत्ता, चप्पल, सवारी साधन, मोबाइल, टेलिफोन, हाते झोला, सुति कपडा, मेशिनरी पार्टस, बिजुलीका तार सयौँ प्रकारका सामग्री चीनबाट आयात भएको छ । सो अवधिमा रू २९ अर्ब ९० करोड ४५ लाख बराबरको सामग्री नेपाल आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए ।

यस नाकाबाट दश लाख केजी दाँते ओखर आयात भएको छ । अन्य आयात सामग्रीमा अप्टिकल फाइबर केबुल, मोटर्स पार्टस्, चस्मा, बिजुलीका तार, मेशिनरी पार्टस्का साथै स्याउ, लसुन रहेका छन् ।

प्रमुख भन्सार अधिकृत पाठकका अनुसार नियमानुसारको मूल्याङ्कनबाट भन्सार शुल्कबापत रू आठ अर्ब २४ करोड ८३ लाख राजस्व असुली भएको छ। वर्षायामको बाढी पहिरो जस्ता समस्याले सडक मार्ग बिग्रने भएका कारण साउन भाद्र महिनाको ढुवानीमा भने केही मात्रामा कमी आउन सक्ने बताइएको छ ।

More News last news
Loading...