कांग्रेसका विद्रोही नेताहरू पुरानै घरमा फिर्ता, निकाले विज्ञप्ति

काठमाडौँ । गत स्थानीय तहको निर्वाचनदेखि मंसिर ४ को आम निर्वाचमा कांग्रेसले गरेको चुनावी गठबन्धनको खिलापमा विद्रोह गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालगायत चितवन कांग्रेसका विद्रोही नेताहरू पार्टीमा फर्किएका छन् ।

यसअघि टिकट नपाएपछि विद्रोहमा उत्रिएका १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइराला, चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा कांग्रेसका पक्षमा उभिएका थिए ।

Advertisement

गत निर्वाचनमा गठबन्धनको विरोध गर्दै भरतपुर महानगरपालिकाको मेयरको उमेदवार बनेका कोइरालालाई पार्टीका नेताहरूले माओवादीसँगको गठबन्धनमा प्रचण्ड पुत्री रेणु दाहाललाई सहयोग गर्नेगरी उम्मेदवार फिर्ता गराएका थिए । स्थानीय तहको निर्वाचनमा मेयर कांग्रेसले नै पाउनुपर्ने दाबी गर्दै आएका कोइरालाले शीर्ष नेताहरूको अनुरोधलाई स्वीकार्दै चित्त दुखाएरै उम्मेदवारी फिर्ता गरेका थिए ।

मङ्सिर ४ मा भएको आम निर्वाचनमा समेत पार्टी केन्द्रले चुनावी गठबन्धन गरेर टिकट नै भागबण्डामा बाँडेर चितवन– ३ मा पुनः माओवादीलाई दिने निर्णय गरेपछि रुष्ट कोइरालाले नेकपा एमालेको समर्थनमा चितवन क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि बागी उम्मेदवारी दिएपछि पार्टीले कोइरालालगायत नेताहरूलाई कारबाही गरेको थियो । तर, उपनिर्वाचनको संघारमा कारबाही फुकुवा गरेर सबै नेताहरूलाई चुनावमा परिचालन गर्ने गणनीतिका साथ कांग्रेस अघि बढेको नेताहरूले बताएका छन् ।

चितवन –२ मा हुन लागेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजबादी पार्टीलगायत आठ दलीय सत्ता गठबन्धनबाट कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ उम्मेदवार बनेका छन्। उक्त क्षेत्रबाट पुनः रास्वपाका रवि लामिछानेले उम्मेदवारी दिएका छन् ।

More News last news
Loading...