काठमाडौं । सत्ता समिकरण फेरिएसँगै प्रधानमन्त्री पुष्ककमल दाहाल ’प्रचण्ड’ सरकार विस्तारको कसरतमा निरन्तर जुटिरहेका छन् ।सरकारलाई पूर्णता दिने तयारीमा रहेका प्रचण्डले दलका शीर्ष नेताहरुसँगको छलफललाई दिनहुँ बाक्लो बनाउँदै लिएका पनि छन् । तर, दलीय हैसियत अनुसारको मन्त्रालय बाँडफाँटमा समस्या पैदा भएपछि प्रचण्ड सकसमा पर्न थालेका छन् ।
पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा गठबन्धन नै फेरे । राष्ट्रपतिमा कांग्रेसलाई सघाएका प्रचण्डले एमाले अध्यक्ष केपी ओलीका कारण सत्ता गठबन्धन टुट्न पुगेको आरोप लगाउदै आएका छन् ।
ओलीले संसदमै पुगेर संसद विघटनको बचाउ गरेपछि आफू झस्किएको बताउने प्रचण्डले छोटो समयमै कांग्रेससँगको सहकार्यलाई अघि बढाएपनि उनको सत्ता संकट थप पेचिलो बन्दै गएको छ । सीमित मन्त्रालय र धेरै दल हुँदा मन्त्रालय बाँडफाँटमै समस्या देखिएको छ । जटिल संसदीय अंकगणितका कारण सरकार विस्तार प्रचण्डका लागि समस्याको विषय बन्न थालेको छ ।
प्रचण्डलाई विश्वासको मत दिएका केहि दलहरुले मन्त्रालयमा ठूलो भाग खोजेपछि सहमति जुट्न नसकेको बताइन्छ । नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले मन्त्रालय संख्या र प्रदेश नेतृत्वका लागि बार्गेनिङ गरेको बताइन्छ । एकीकृत समाजवादीले गृह, उर्जा, परराष्ट्र लगायतका शक्तिशाली मन्त्रालयको माग गरिरहेको छ भने, जनमत पार्टीले दुई मन्त्रालय मागिरहेको छ । यस्तै, कांग्रेसले एमालेले लिएका मन्त्रालयहरुमा आफ्नो दाबी पेश गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, नेपाल समाजवादी पार्टी लगायतका पार्टीहरुलाई पनि भाग पु¥याउनुपर्ने बाध्यतामा रहेका प्रचण्डले शक्ति सन्तुलन कसरी मिलाउलान भन्ने विषय पेचिलो बनेको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जान सकारात्मक देखिन्छ । तर, रास्वपा उपचुनावपछि मात्रै सरकारमा जाने तयारीमा रहेका कारण तत्काल रास्वपा सरकारमा जाने सम्भावना भने कम छ । तर, अन्य दलहरुकै दाबीका कारण प्रचण्डलाई समस्या पर्दै गएको छ ।
सरकार विस्तारको तयारीमा रहेका प्रचण्डले कसरी भागबण्डा मिलाउलान ? त्यो भने हेर्न बाँकी नै छ । अबको केहि दिनमै सरकारलाई पूर्णता दिएर भारत भ्रमणमा निस्किने तयारीमा रहेका प्रचण्ड कांग्रेस सभापति शेरबहाददुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग नियमित सम्बादमा रहेका छन् । निकास निकाल्न नसकेपनि एक चरणको सरकार विस्तार छिट्टै गर्ने तयारीमा रहेका प्रचण्ड आफ्नो दललाई प्रधानमन्त्री सहित ५ मन्त्रालय राख्ने तयारीमा छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
