काठमाडौँ । भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ ।
नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिनुभयो । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित बनाउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।
राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३४ मध्ये तीन सय ३१ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता रहेका छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।
यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेशसभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।
सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्धामा निलम्बनमा रहेका छन् । चितवनको निर्वाचन क्षेत्र नं २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिन अघि निधन भएको थियो ।
चुनावका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनुभएको छ । चुनावलाई केन्द्रीत गरी काठमाण्डौमा सुरक्षा सर्तकता उच्च पारिएको छ । यसपाली राष्ट्रपति चुनावमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुँदैछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
