विप्लव, बास्तोलालालाई साक्षी राखेर बाबुरामले भने, ‘अब नयाँ ढङ्गले पार्टी एकता’

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताउनुभएको छ । आज यहाँ सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उहाँले

भन्नुभयो, “हामीले आफना कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्छ । त्यसका लागि छलफल र समीक्षा गरौँ । माओवादीहरू नयाँ ढङ्गबाट एक हुन हुनुपर्छ । ” उहाँले मिल्न सक्नेबीच एकता गर्नुअघि मोर्चा बनाएर छलफल गर्नुपर्नेमा जोडदिनुभयो ।

Advertisement

अध्यक्ष भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा लगाउनु माओवादीलाई आक्रमण गर्न खोज्नु र गिज्याउनु भएको अभिव्यक्ति दिनुभयो । उहाँले भन्नुभयो, “बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या हैन ?”

उहाँले माओवादीबीच एकता हुन नसक्दा यसअघि नै धेरै कुरा गुमाउन परेको गुनासोसमेत गर्नुभयो । “पहिलो संविधानसभाबाट संविधान बनाएर जान सकेको भए योभन्दा राम्रो संविधान, सेना समायोजन र सहिद तथा बेपत्ता पारिएकासम्बन्धी आयोगको काम समयमै सम्पन्न हुने थियो । तर अभागीलाई खानेबेला रिस उठ्छ भने जस्तै हामीलाई रिस उठ्यो त्यो बेला, हामीबीच एकता हुन सकेन”, उहाँले भन्नुभयो । नेतृत्व मोहका कारण राजनीतिमा पुस्तान्तरण हुन नसकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको बलिदानको कदर हुन नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको अवस्था परिवर्तन हुन नसके, सहिदहरूको बलिदानको सम्मान हुन नसके फेरि अर्को क्रान्ति अगाडि बढ्नेछ ।”

नेपाल बहुमत पार्टीका संयोजक धमेन्द्र बास्तोला कन्चनले क्रान्तिले राज्य व्यवस्थामा अझै परिवर्तन ल्याउन नसक्नु दुःखद भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले कमीकमजोरी स्वीकार गरिरहनुभएका नेताले त्यसबेला समीक्षा गर्न नसक्दा घटेको घटना अहिले घट्न दिनुहुँदैन ।”

More News last news
Loading...