मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि मात्रै, थप ८ मन्त्रालयको कार्यभार सम्हाल्दै प्रधानमन्त्री

काठमाण्डाै l सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताउनुभएको छ । मङ्गलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताउनुभएको हो।

नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुङ्गो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको चुनावपछि मात्रै लिने प्रवक्ता शर्माले जानकारी गराउनुभयो।

Advertisement

राष्ट्रपतिको चुनावका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले निर्धारित समयभित्रै विश्वासको मत लिइने बताउनुभयो ।

प्रवक्ता शर्माले देशमा फेरिएको राजनीतिक परिस्थितिका कारण संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन तत्कालीन परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल जान नसक्नुभएको बताउनुभयो । त्याे कार्यक्रमको प्रयोजनका लागि मात्रै प्रधानमन्त्रीको सल्लाहकारको रूपमा नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाइएको उहाँले बताउनुभयो ।

थप आठ मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोकेकी छन्। प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजुदा मन्त्रिपरिषद्मा सहभागी रहेका मन्त्रीले सोमबार राजीनामा दिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन् । नेकपा (एमाले) का तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि आठ मन्त्रालय खाली छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका थिए । उनीहरुले सम्हालेको मन्त्रालय अब भने प्रधानमन्त्री दाहालले नै सम्हाल्नेछन् ।

More News last news
Loading...