काठमाडौं । आठदलीय गठबन्धनको आइतबार बसेको बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदलाई फागुन २३ भित्र राजधानी काठमाडौं आउन निर्देशन दिने भएको छ। राष्ट्रपतिको निर्वाचनका लागि उनीहरू सबैलाई राजधानी बोलाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।
बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सबै प्रदेशमा राष्ट्रपति निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। बैठकले संघ तथा प्रदेशसभाका सांसदलाई फागुन २३ गतेसम्म राजधानी आइपुग्न निर्देशन दिएको छ। बैठकले सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउन आह्वान पनि गरेको छ।
उपसभापतिको नेतृत्वमा कार्यदल गठन
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो।
कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरदसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।
कार्यदलले आफ्नो पार्टी पंत्तिका सांसदलाई राष्ट्रपतिमा पौडेललाई जिताउन भूमिका खेल्नुपर्ने जिम्मेवारी तोकिएको छ। आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ उम्मेदवार छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
