काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्नु भएको छ। बैठकले नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनीतक दलहरु एवं राष्ट्रिय सभा र प्रदेश सभाका सबै सदस्यहरुलाई आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो।
उहाँले २०८० साल वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको बताउनुभयो । उहाँले उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पनि बताउनुभयो।
उहाँले उक्त उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरेको बताउनुभयो।
राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दावी गर्नुभएको छ।शनिबार पार्टीको कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत रूपमा स्वीकार गरेको बताउनुभयो ।
उहाँले राष्ट्रपति उम्मेदवारको रूपमा आफ्नो नाम आउनु स्वाभाविकै भएपनि अन्तिममा पार्टीले पौडेललाई बनाउने निर्णय गरेको बताउनुभयो । उहाँले शुक्रबार बैठकमा सहभागी ८ दलले नै पूर्ण रुपमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल सर्वसम्मत हुनुभएको हो । मेरो पनि चर्चा थियो, त्यो स्वभाविक पनि छ । सभापतिज्युले प्रस्ताव राख्नुभयो, हामीले सर्वसम्मतले पास गरेका छौं । अहिले गठबन्धनमा रहेका सबैको समर्थन रहन्छ । उहाँको विजय निश्चित छ । अत्याधिक मतले विजय निश्चित छ ।’
संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धनमा सचेत छु : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधानको संरक्षण, राष्ट्रियताको संवर्द्धन र जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा आफूलाई आउन लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार, अद्वितिय अधिकार सबै जनतालाई प्रदान गरेको छ । त्यसको रक्षा गर्ने चुनौति आएको छ । नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियताको संवुरद्धन, नेपाली जनताको उन्नतिको रेखदेख गर्ने जुन अभिभारा, जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु । र म सबै नेपाली दाजुभाई, दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु, हामी सबै मिलेर यो राष्ट्रको जगेर्ना गरौं ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
