काठमाडौँ । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तुमात्रै प्रयोग गर्न परिपत्र गरेको छ। सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले आज शुक्रवार एक परिपत्र जारी गर्दै सबै तहका सरकार, मन्त्रालय, आयोग र सार्वजनिक कार्यालयहरूलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न अनुरोध गरेको हो।
परिपत्रअनुसार मन्त्रालय मातहतका निकाय तथा आयोगहरूले आयोजना गर्ने अतिथि सत्कार एवम् चिया खाजामा अनिवार्यरूपमा नेपाली उत्पादन प्रयोग गर्नुपर्नेछ। यस्तै सार्वजनिक निकायले आफ्नो उपयोगको लागि स्टेशनरी, फर्निचर, मेशिनरी औजारजस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म सबै नेपाली उत्पादन नै खरिद गर्नुपर्ने र उपलब्ध नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक खरिद नियमावलीअनुसार खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशत महँगो भए पनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै त्यही बमोजिम खरिद गर्नुपर्ने मन्त्रालयले जनाएको छ। स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।
सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा स्वेदशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गरी बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादन र उपभोगलाई जोड दिने उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
