कांग्रेस नेतृत्वको विपक्षी मोर्चाको बैठक बस्दै, राष्ट्रपति र उपनिर्वाचनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक बोलाएको छ।
राष्ट्रिय सभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा कांग्रेसले आफू नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बोलाएको हो ।

बैठक कांग्रेस संदीय दलको कार्यालयमा शनिबार (आज) बिहान ११ बजेका लागि बोलाइएको कांग्रेसका नेताहरुले बताएका छन् । बैठकमा नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ।

Advertisement

नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने तयारी गरेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

लामो समयदेखि रिक्त रहेको राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन सोमबार गर्ने संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ। सचिवालयले आइतबार उम्मेदवारी दर्ता गर्ने र सोमबार मध्यान्ह १२ बजे निर्वाचन हुने तालिका सार्वजनिक गरिसकेको छ।

प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि उम्मेदवारी दर्ता गराउन लागेको छ । तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा भने कांग्रेस पुगिसकेको छैन । सत्तारुढ दलले पनि यसबारेमा निर्णय लिइसकेका छैनन् ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे पनि छलफल हुने उच्च स्रोतले जनाएको छ। लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विपक्षी मोर्चाबाट कांग्रेसले उम्मेदवार खडा गरेको छ ।

माघ २५ मा हुने निर्वाचनमा कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । विपक्षी मोर्चाको बैठकमा सत्ता गठबन्धनमा देखिएको खटपट र पूर्ववत गठबन्धन ब्युँताउने विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।

More News last news
Loading...