सन्दिप माथि निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने बाटो खुल्ला

पोखरा l बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन नेपाल क्रिकेट संघ (क्यान) ले आज फुकुवा गरेको छ। क्यानको पोखरामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

तर क्यानका ७ जना केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेका छन्। केन्द्रीय सदस्यहरू ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्वी लामा र धर्मराज गिरीले बहिष्कार गरेका हुन्।

Advertisement

बलात्कारको आरोपमा सन्दीप पक्राउ परेपछि क्यानले उनलाई निलम्बन गरेको थियो। उच्च अदालत पाटनले उनलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने निर्णय गरेदेखि नै क्यान उनको निलम्बन फुकुवा गर्ने र मैदानमा उतार्ने पक्षमा थियो। तर अदालतले उनलाई बलात्कार मुद्दामा सफाइ दिइसकेको छैन।

सन्दीपलाई बलात्कार मुद्दामा थुनामै राख्नुपर्ने मागसहित मंगलबार नै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएकै दिन क्यानले उनको निलम्बन फुकुवा गरेको हो।

उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको महान्यायाधीवक्ताको कार्यालय श्रोतले जानकारी दिएको छ। महान्यायाधीवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार उच्च अदालतको आदेश बदर गर्न माग गरेको छ।

More News last news
Loading...