आगामी वर्ष कार्तिकमा दशैँ, असोजमा तीज, कुन पर्व कहिले ?

काठमाडौं l २०८० सालको दशैँ कात्तिकमा पुगेको छ। घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ। फूलपाती महाष्टमी र महानवमी क्रमशः ४, ५ र ६ गते परेका छन्। कोजाग्रत पूर्णिमा कात्तिक ११ गते परेको छ।

‘यो वर्ष साउनमा अधिकमास अर्थात् मलमास परेका कारण हिउँदका चाडपर्व सरेका हुन्’ नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘यो वर्ष साउन २ गते देखि ३१ गतेसम्म अधिक मास रहनेछ।’

Advertisement

समितिबाट स्वीकृति पाई प्रकाशित पात्रोका अनुसार मलमासअघिका चाडपर्व भने अगाडि आएका छन्। जस्तै आमाको मुख हेर्ने दिन वैशाख ७ मा नै परेको छ। अक्षय तृतीया पर्व वैशाख १० गते छ। वैशाख शुक्ल पूर्णिमामा मनाइने बुद्धजयन्ती वैशाख २२ गते परेको छ। चण्डीपूर्णिमा र उधौली पर्व पनि यही दिन मनाइन्छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी असार १४ गते परेको छ। यो दिन तुलसीरोपण गरिन्छ। गुरुपूर्णिमा असार १८ गते छ। गुरुपूर्णिमाको एक महिनामा पर्नुपर्ने जनैपूर्णिमा वा रक्षाबन्धन अधिक मासका कारण भदौ १४ गते परेको छ। तिथिको घटबढका कारण नेवार समुदायले गाईजात्रा पर्व पनि त्यही दिन मनाउनेछ। ५ घटी १८ पला पूर्णिमापछि त्यसै दिन प्रतिपदा लाग्ने भएकाले दुवै पर्व एकैदिन परेको पञ्चांगमा उल्लेख छ।

नागपञ्चमी भने भदौ ४ गते परेको छ। यस्तै श्रीकृष्णजन्माष्टमी पर्व भदौ २० गते मनाइने छ। कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन भदौ २८ गते परेको छ।

तीजपर्व असोजको १ मा पुगेको छ। गणेशचतुर्थी र ऋषिपञ्चमी असोज २ गते नै मनाइने पञ्चांगमा उल्लेख छ। त्यो दिन १२ घटी २५ पलासम्म चतुर्थी र त्यसपछि पञ्चमी लाग्ने बताइएको छ। सोह्र श्राद्ध असोज १३ गते सुरु भई २७ सम्म रहनेछ।

तिहारको लक्ष्मीपूजा कात्तिक २६ गते परेको पञ्चांगहरूमा उल्लेख छ। त्यसै दिन बिहान कुकुरपूजा गरिनेछ। भोलिपल्ट २७ गते औँसीका दिन गाईपूजा गर्न निर्देश छ। सोमबार परेको औँसी भएकाले सोमबारे औँसी पनि मनाइनेछ। कात्तिक २८ गते गोवर्धन पूजा गरिनेछ। यसै दिन नेपाल संवत् ११४५ शुरु हुनेछ। नेवार समुदायले यो दिन म्हपूजा गर्नेछ। कात्तिक २९ गते भाइटीका परेको छ।

छठपर्व मंसिर ३ गते परेको छ। ठूली एकादशी अर्थात् हरिबोधिनी एकादशी मंसिर ७ गते परेको छ। चतुर्मास पूरा हुने पूर्णिमा मंसिर ११ गते छ। पितृको सम्झनामा पशुपतिनाथमा शतबीज छर्ने दिन र्थात् बालाचतुर्दशी मंसिर २५ गते परेको छ।

More News last news
Loading...